
जकार्ता, पुस ३० । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्ल्याकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् ।
उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्ल्याकबक्सले सहयोग पुग्ने बताइएको छ ।
बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । उक्त विमान जाभाको तटीय समुद्रमा खसेको थियो । दुर्घटनामा विमानमा यात्रारत सबै १८९ जनाको मृत्यु भएको थियो । विमान उडेको केही समयपछि पाइलटले विमान पुनः जकार्ता फर्काउन लागेको बताएका थिए ।
इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार विहान दोस्रो ब्ल्याकबक्स भेटिएको जानकारी दिए ।
खोज तथा उद्धार टोलीले उक्त जहाजको फ्लाइट डाटा रेकर्डर (ब्ल्याकबक्स) फेला पारिसकेका थिए । उक्त रेकर्डरको मद्दतले जहाजको गति, उचाई र दिशाका बारेमा थाहा पाउन सकिन्छ । दोस्रो ब्ल्याकबक्समा भने पाइलटको आवाज सङ्ग्रहित हुन्छ ।
अनुसन्धाताहरुले लायन एयरको जहाजमा पहिल्यैदेखि समस्या आएको पाइएकाले उडाउन नहुने बताएका छन् । अनुसन्धानबाट जहाजमा प्राविधिक समस्या आएको देखिए पनि दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न सकेको थिएन ।
उड्डयन विज्ञहरुका अनुसार ब्ल्याकबक्समा कुनै पनि विमान दुर्घटनाका बारेमा झण्डै ९० प्रतिशत सत्य कुरा थाहा हुने गर्दछ ।
विमानका यात्रुको अनुरोधमा लायन एयरले ब्ल्याकबक्स खोजीका लागि २६ लाख अमेरिकी डलर भुक्तानी गरी एउटा डच कम्पनीलाई जिम्मा लगाएको थियो ।
विमान निर्माता कम्पनी बोइङविरुद्ध मृतकका झण्डै ३० जना आफन्तले कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छन् । उनीहरुले बोइङ ७३७ म्याक्स मोडेलमा प्राविधिक समस्या रहेको बताउँदै आएका छन् ।
बोइङको म्याक्स श्रेणीका विमानलाई विश्वकै नयाँ र सर्वाधिक समुन्नत व्यावसायिक उडान गर्ने विमानका रुपमा लिइन्छ । (रासस÷एएफपी)
प्रतिक्रिया दिनुहोस्