
१५ सेट लागुऔषधसहित कारोबार गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर–१० बाझाँखेतका ३१ वर्षीय सागर घिमिरेलाई लागुऔषध कारोबार गर्दागर्दै प्रहरीले शनिबार पक्राउ गरेको हो ।
लागुऔषध बिक्री गर्नेक्रममा सुराकीको आधारमा घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घिमिरेको साथबाट डाइजापाम, फेनारोगन, नोफिन १५/१५ ओटा बरामद गरिएको छ ।
यस्तै, ४ हजार ७२० रुपैयाँ नगद, लागुऔषध प्रयोग गर्ने सिरिन्ज तीनओटा बरामद गरिएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
शनिबार साँझ घलेगाउँ जाने चोकको एक होटलमा लागुऔषध कारोबार गर्दैगर्दा घिमिरेको साथबाट ७ सेट लागुऔषध बरामद भएको थियो ।
थप ८ सेट लागुऔषध घिमिरे बसेको मनांगेचौताराको थ्रोङ्ला होटलको कोठाबाट बरामद गरिएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।
सवारीचालक पेसामा रहेका घिमिरेले आफूपनि लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीसमक्ष बयान दिएका छन् ।
दुई महिनादेखि सवारीचालक पेसा छोडेर लागुऔषध कारोबारमा लागेको उनले बताएको प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षमा लमजुङमा लागुऔषध कारोबारी समातिएको यो पहिलो घटना हो ।
प्रतिक्रिया दिनुहोस्