२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


डेंगीको संक्रमण बढ्दो (भिडियो)


0
Shares

सर्लाही जिल्लाको लालबन्दी क्षेत्रका २, ५, ६, ७, ८ र १० नम्वर वडामा डेंगी संक्रमण दर उच्च देखिएसँगै पछिल्लो समय काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा समेत फैलिएको हो ।

गत भदौको पहिलो सातादेखी हालसम्म देशभरी ८० जना डेंगी संक्रमित बिरामी भेटिएको इपिडियोमोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले जनाएको छ ।

तराईका जिल्लाहरुमा देखिएको डेंगीको संक्रमण धादिङमा समेत देखिएको छ । जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्ण उप्रेतीका अनुसार दुई जनामा डेंगीको संक्रमण पाइएको छ ।

डेंगी रोग फैलन सक्ने सम्भावित जिल्लाहरुमा सरकारले बर्षेनी डेंगी रोगथामका लागी ३ देखी ५ लाखसम्म रकम पठाउने गरेको छ ।

इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा.भिम आर्चायले ‘लामखुट्टे खोजेर मार’ भन्ने अभियानमा स्वास्थ्यकर्मी परिचालन भइसकेकाले डेंगीको संक्रमण कम हुँदै गएको दाबी गरे ।

तर, उपचारका लागि राजधानी आएका डेंगी संक्रमितले भने सरकारी पक्षबाट यस्तो कुनै कार्यक्रम सन्चालन नभएको गुनासो गरेका छन् । उनीहरुले डेंगीको संक्रमण निकै तीब्र गतिमा भइरहेको बताउँदै सरकारले समयमै ध्यान नदिदा समस्या बढेको बताए ।

सरकारी अस्पतालहरुमा डेंगीको संक्रमण परीक्षण गर्ने किटको समेत अभाव रहेको बिरामीहरुले बताएका छन् ।

सफा पानीमा बसेर फुल पार्ने ‘इडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगीको भाइरस मानिसमा सार्ने गर्दछ । बिहान र साँझको समयमा बढी टोक्ने पोथी लामखुट्टेले ५ जनासम्मलाई टोक्ने हुँदा धेरै मानिस डेंगी भाइरसबाट प्रभावित हुने गरेको सरुवा रोग विशेषज्ञ डा.शेरवहादुर पुनले बताए ।

समयमै उपचार पाउने हो भने डेंगी संक्रमित रोगीलाई पूर्ण रुपमा निको बनाउन सकिने पनि डा.पुन बताउँछन् ।

डेंगी भाइरसको संक्रमण भए ज्वरो आउने, जिउ दुख्ने, हड्डी दुख्ने, आँखा दुख्नेलगायतको समस्या देखा पर्ने गर्दछ । डेंगी संक्रमित विरमीलाई लामखुट्टेले टोकेमा रोग फैलने सम्भावना उच्च हुने महाशाखा प्रमुख डा.भिम आर्चायले बताउँछन् ।

गर्मी याममा देखिने डेंगी संक्रमण काठमाडौं र भक्तपुर जिल्लामा समेत देखिएको छ । डेंगु रोकथामको लागी स्वास्थ्य मन्त्रालयले ठूलो रकम खर्च गरेको देखाउने गरेको भएपनि डेंगी संक्रमणको समस्या भने ज्युँका त्युँ रहेको छ ।

भिडियो हेर्नुस्