
सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, युरोप, न्युजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरुको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेका छन् ।
यसैहप्ता नेपालको एक दैनिकमा युरोपमा ‘तलब रु १ लाख ३० हजारदेखि ३ लाखसम्म भनी छापिएको एक विज्ञापनमा साधारण लेखपढ भए मात्रै पुग्ने, आइएसओबाट मान्यता प्राप्त कम्पनी, प्रवेशाज्ञाको रकम तलबबाट मिलाइने, एजेण्टलाई राम्रो कमिशन, खान–बस्न, मेडिकल सबै कम्पनीले व्यहोर्ने’जस्ता कुरा उल्लेख गरिएको छ ।
सम्पर्कका लागि दिइएको मोबाइल नम्बर ९७७–९८१९५४५६१३ मा राससले सम्पर्क गर्दा सुरुमा हिन्दी भाषामा ‘तपाईंले सम्पर्क गर्नुभएको नम्बर व्यस्त छ, केही समयपछि सम्पर्क गर्नुहोस्’ भन्ने जवाफ आयो । पुनः अर्कोपटक सम्पर्क गर्दा फोनको घण्टी गएको केही समयपछि फोन काटियो, यस पटक भने ‘तपाईंले सम्पर्क गर्नुभएको नम्बर व्यस्त छ’ भनी नेपालीमा सुनियो ।
सो नम्बरमा सम्पर्क गरिएको केही समयपछि भारतीय नम्बरबाट सम्पर्क गर्ने व्यक्तिलाई फोन र मेसेज आउने गरेको छ । केही समयपछि भारतीय मोबाइल नम्बर ९१–९७१८८५३०३० बाट राससलाई फोन आयो । फोन गर्ने व्यक्तिले आफ्नो नाम रिया भएको जानकारी दिँदै आफ्नो कार्यालय दिल्लीमा रहेको तथा युरोप जाने प्रक्रिया सुरु गर्दा सुरुमा भारु १० हजार र पछि भारु एकलाख लाग्ने गरेको बताइन् ।
सोही नम्बरबाट आएको मोबाइल सन्देशमा ‘डायमण्ड ओभरसिज, महेन्द्रपार्क, ल्याण्डमार्क, बिल्लु बिल्डिङ’ नजिकै उत्तम नगरमा सम्पर्क गर्न आग्रह गरिएको छ । नेपाली मोबाइल नम्बरमा सम्पर्क गर्दा हिन्दी भाषामा जवाफ आउने बनाएर सो गिरोहले प्रविधिको समेत दुरुपयोग गरिरहेको प्रष्ट देखिन्छ ।
श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले आफूले पनि सो नम्बरमा फोन गर्दा सुरुमा काटिएको तथा पछि भारतबाट आफ्नो नाम रितु भन्दै एक महिलाको हिन्दी भाषामा फोन आएको जानकारी दिए ।
उनले भन्ने, ‘ती महिलाले भारतको चण्डिगढमा आफ्नो कार्यालय रहेको र कम्पनीले युरोप, क्यानडा लैजाने गरेको बताउँदै यहीँ आएर सबै बुझ्न आग्रह गरिन् । नेपालमा सम्पर्क कार्यालय छ भनी मैले सोध्दा नभएको उनले बताइन् ।’
उनले प्रवक्ता अधिकारीलाई पठाएको मोबाइल सन्देशमा ‘कंगाारु कन्सल्टेन्ट, अम्बाला, चण्डिगढ हाइवे, सत्य कम्प्लेक्स, स्टेट बैंक अफ पटिआला’को विपरीत दिशा डेरावासी, अम्बाला, पन्जाबमा रहेको भनी इमेल ठेगानासमेत समावेश छ ।
यसरी सोही नम्बरमा सम्पर्क गर्दा कतै दिल्ली र कतै चण्डीगढ कार्यालय रहेको तथा आवश्यक कागजात र रकम लिएर आउन भन्ने गरिएकोे छ । वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन छाप्दा विभागले दिएको ढाँचामा विभागबाट अनुमति लिएर छाप्नुपर्नेमा विनाअनुमति त्यस्तो विज्ञापन छापिएको प्रवक्ता अधिकारीले बताए ।
ठगी गरेर रकम उठाएर बिचल्लीमा पार्ने गिरोहले सो काम गरिरहेको हुन सक्ने उनको भनाइ छ । यस्तै, विज्ञापनबाट ठगिएका केही सर्वसाधारणले विभागमा उजुरीसमेत दिएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन छाप्दा विभागको अनुमति लिनुपर्ने कानुनी प्रावधानप्रति सन्चारमाध्यम पनि सचेत हुनुपर्ने बताए । उनले भने, ‘यस्तै विज्ञापनका आधारमा मानिस ठगिन्छन्, अनि हामी व्यवसायीमाथि ठगीको आरोप लाग्छ, यस्ता विज्ञापन नियन्त्रण गर्न राज्यका निकाय सचेत हुनुपर्छ ।’
नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले वैदेशिक रोजगारी भए श्रम मन्त्रालय र अध्ययनका लागि विदेश जाने भए शिक्षा मन्त्रालयमा दर्ता भएका संस्थाबाट मात्रै जाँदा ठगिनबाट जोगिने र तीबाहेक अरू नाममा आएका विज्ञापन सरासर ठगी गर्ने नियतले आउने गरेको बताए ।
नेपालमा कार्यालय नभएका शैक्षिक परामर्श संस्थाबाट विदेश पढ्न भनी गएका विद्यार्थीले दुःख पाएको धेरै घटना भेटिएको छ भन्दै उनले यसमा विद्यार्थी र अभिभावक सबै सचेत हुनुपर्ने बताए । नेपाली पत्रिकामा यस्तो विज्ञापन नेपालकै व्यक्ति वा एजेन्सीले दिई छापिएकाले नेपालीको पनि यस्तो ठगीमा संलग्नता देखिएको छ ।
महानगरीय अपराध महाशाखा, टेकुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवस लोहनीले पछिल्लो समय यस्तो ठगी बढ्दै गएको स्वीकार्दै स्वीकृति नलिई विदेश पठाउने कार्यमा संलग्न गिरोहबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले विदेश जाने नाममा आएका नक्कली विज्ञापनको पछि नलाग्न तथा नबुझेर रकम लगानी नगर्न सबैसँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्