
बिरामीको उपचार गर्ने सो अस्पताल अहिले आफैंँ अस्वस्थ भएको स्थानीय बासिन्दाले बताएका छन् ।
उपचारका लागि उपकरण, सामग्री सरकारले उपलब्ध गराए पनि प्राविधिक र चिकित्सकको अभावका कारण प्रयोगमा आउन सकेका छैनन् । सोही कारण अस्पतालमा आउने बिरामी निजी अस्पताल तथा क्लिनिकमा उपचार तथा प्रयोगशाला जाँचका लागि जान बाध्य भइरहेका छन् ।
विसं २०७३ मंसिरमा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी ) समूहका अध्यक्ष विकास तिवारीले अस्पताल सुधारका लागि १८ दिनसम्म आमरण अनशन गरेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताल सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिबद्धतानुसार अस्पताललाई तत्काल स्वास्थ्य उपकरण तथा प्रयोगशालाका सामग्री पठाइए पनि दक्ष चिकित्सक तथा प्राविधिक नहुँदा उपकरण प्रयोगविहीन अवस्थामा अस्पतालमा थन्किएका छन् । उपकरणमा ‘अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होराइजन्टल एक्सरे मेसिन र डायलासिस मेसिन’ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.दयाशंकरलाल कर्णले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा १८ चिकित्सकको दरबन्दी रहेकामा हाल तीन चिकित्सकमात्र कार्यरत छन् । अन्य करिब २५ प्राविधिक तथा स्वास्थ्यकर्मीको पद रिक्त छ ।
चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा सरसफाइको समेत अभाव छ । आकस्मिक कक्षमा चिकित्सक नबस्दा उपचारका लागि आएका बिरामी अन्यत्रै पठाउनु अस्पतालको दुर्भाग्य भएको राजविराजका समाजसेवी देवु यादवले बताए ।
उनले आफ्नी श्रीमतीलाई अस्पतालमा चिकित्सकको अभावका कारण बाहिर निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउनुपरेको गुनासो गरे ।
अस्पतालमा पुराना यन्त्रसमेत मर्मत नगर्दा खिया लागेर बिग्रिसकेका छन् । बाढीबाट रोग उत्पन्न भएका कारण सो अस्पतालमा विगतको तुलनामा अहिले उपचार गराउनेको संख्या दिनप्रतिदिन बढिरहे पनि उपचारको समस्या जस्ताको तस्तै रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्