
भैरहवा, पुस २९ । रुपन्देहीका विभिन्न सीमा नाकाहरुबाट तस्करी गरी सामान ल्याउने क्रम मौलाउँदै गएको छ । तस्करीका यस्ता धन्दाहरु मौलाउँदै जाँदा राजश्वमा त असर गरेको छ नै, त्यसमाथि आपराधिक घटनाले पनि प्रश्रय पाउन थालेको छ ।
रुपन्देही जिल्लाको बेलहिया नाका नेपाल भारत बीचको मुख्य नाका भएकाले पनि यस नाकाबाट तस्करीका घटनाहरु बारम्बार भइरहन्छन् । कुखुराका चल्ला, लागुऔषध, कपडा, खाद्यान्नलगायतका सामग्रीहरुको तस्करी बढी मात्रामा भएको तथ्यांकले देखाउँछ ।
प्रहरीले पनि यस नाकाबाट धेरै तस्करीका सामानहरु बरामद गरिरहेको छ । अर्कोतिर खुला सीमाना भएकाले पनि तस्कर गर्नेहरुलाई अझ बढी सहज भएको छ ।
रुपन्देहीमा तस्करी मौलाइरहेको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित बनेपछि प्रहरीले सर्च अपरेसन तथा जिल्लाका विभिन्न नाकाहरुमा आफ्नो निगरानी बढाएको थियो । सोही क्रममा शनिबार राति रुपन्देहीको भैरहवास्थित शंकरपुरमा विशेष अपरेशनमा प्रहरीको टोली खटिएको थियो ।
मध्यरातमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनामध्ये एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथि जवाफी कारबाही गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।
प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
प्रहरी उपरीक्षक थापाका अनुसार तस्करले चलाएको गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।
प्रतिक्रिया दिनुहोस्