Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


संसद सचिवालयबाट हुने आर्थिक कारोबार सरकारी बैंकबाट गर्न सांसदहरुको माग


0
Shares

काठमाडौं, पुस २९ । सांसदहरुले संसद सचिवालयबाट हुने आर्थिक कारोबार सरकारी बैंकबाट गर्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य र विशेष समयमा भाग लिँदै सांसदहरुले अहिले एभरेष्ट बैंकमार्फत भइरहेको संसद सचिवालयको आर्थिक कारोबार बन्द गरेर सरकारको स्वामित्व अर्थात सरकारी बैंकबाट गर्न माग गरेका हुन् ।

सांसदहरु शशी श्रेष्ठ, विना श्रेष्ठ र सुरेशकुमार राईले निजी र विदेशी लगानी भएको बैंकबाट नभई सरकारी स्वामित्वको वाणिज्य बैंकबाट कारोबार गर्न माग गरे ।

सांसदहरुले विदेशी लगानी भएको बैंकबाट आर्थिक कारोबार गर्दा राज्यका जिम्मेवार व्यक्तिका गोप्य सूचना बाहिरिन सहयोग पुग्ने जिकिर गरेका छन् । संघीय संसद सचिवालयले सांसद तथा कर्मचारीलाई दिने तलब तथा भत्ता भारतीय पञ्जाव नेशनल बैंकको लगानी रहेको एभरेष्ट बैंकमार्फत भुक्तानी हुने गरेको छ ।

बैठकमा सांसदहरु इन्दुकुमारी शर्मा, दिलकुमारी र लालकाजी गुरुङले सांसद विकास कोषको बजेट विनियोजन र सहभागितामा प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच, आज बसेको बैठकले विभिन्न तीनवटा विधेयक पारित गरेको छ । बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, निवृत्तिभरण कोष विधेयक र भुक्तानी तथा फर्स्यौट विधेयकलाई पारित गरेको हो ।