२६ श्रावण २०८२, सोमबार | Tue Aug 12 2025


८८ किलो सुन तस्करीमा संलग्न थप पाँचजना समातिए


0
Shares

महानगरीय प्रहरी महाशाखाले भारत, महाराष्ट्र घर भइ हाल ओटुमा पशुपति सुनचाँदी पसलका सन्चालक रहेका नन्दकुमार मर्ग, भारत, महाराष्ट्र नै घर भइ ओटुमै सिद्धनाथ सुनचाँदी पसलका सन्चालक उल्लास दिनकर सालुखे, भारत, बिहार घर भइ नरदेवीमा रविश्या ट्रेडर्स सन्चालन गरी बसेका सत्यनारायण अग्रवाल, न्यूरोडस्थित कार्यविनायक सुनचाँदी पसलका सन्चालक गणेशदत्त बडू, बांगेमुढास्थित शाक्य सुनचाँदी पसलका सन्चालक सुभरत्न शाक्यलाई पक्राउ गरिएको जनाएको छ ।

सोमबार पक्राउ परेका पाँचजनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

शाक्यको पसलबाट १ करोड ४२ लाख रुपैयाँ नगद, १ किलोभन्दा बढी सुन, अग्रवालको कोठाबाट १३ लाख ५० हजार नगद र बडूको पसलबाट १० लाखभन्दा बढी नेपाली रुपैयाँ, ८ हजार भारु र १ हजार १ सय अमेरिकी डलर बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

गत भदौ तेस्रो साता ८८ किलो सुनसहित क्षेत्रपाटीबाट मकवानपुरगढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका थिए । प्रहरीले बा१७च ६४२७ नम्बरको एउटा गाडी पनि बरामद गरेको थियो ।

नेपालमा होटल व्यवसाय गरी बस्ने चिनियाँ व्यापारीले भित्र्याएको सुन प्रहरीले सुराकीका आधारमा बरामद गरेको थियो ।

बरामद गरिएको ८८ किलो सुन भने अनुसन्धानका लागि राष्ट्र बैंकको ढुकुटीमा राखिएको छ ।