अक्कल कुँवर (इमेज)
भरतपुर, पुस २८ । परापूर्वकालदेखि नै घोडाको प्रयोग विभिन्न हिसाबबाट पाइन्छ ।
पूर्वीय संस्कृतिले घोडालाई पवित्रताको प्रतीक मानिरहँदा पाश्चात्यहरुले युद्धकार्यमा प्रयोगका हिसाबले महत्व दिए ।
नेपालमा पनि प्राचीनकालमा भएका युद्धलगायत विशेष कार्यक्रमका शुभसाइत, सौख, विभिन्न चाडपर्व र यातायातको साधनकारुपमा घोडाको प्रयोग हुँदै आएको छ ।
अहिलेपनि विभिन्न काममा प्रयोग हुने घोडाको उत्पादनका लागि चितवनको भरतपुरमा सरकारी निकायबाटै घोडा उत्पादन केन्द्र सन्चालनमा छ ।
घोडा उत्पादन गर्ने उद्देश्यले सरकारी निकायबाटै खोलिएको एकमात्रै उत्पादन केन्द्र चितवनको भरतपुरमा छ ।
विदेशबाट घोडा आयातमा धेरै समस्या व्यहोर्नुपर्ने भएपछि नेपाली सेनाले झन्डै तीन दशकअघि अर्थात् २०४२ साल पुस १४ गतेदेखि ‘इक्वेन ब्रिडिङ सेन्टर’कारुपमा घोडा प्रजनन् केन्द्र सन्चालनमा ल्याएको हो । केन्द्रमा हाल स्वदेशी तथा विदेशी गरी ७३ ओटा घोडा छन् ।
केन्द्रले विभिन्न प्रकारका घोडाहरु उत्पादन गरी नेपाल क्याभलरी र गोरखा दरबार, हनुमानढोकाजस्ता ऐतिहासिक स्थानहरुमा पठाउँदै आएको छ । केन्द्रमा दुई प्रकारका घोडा छन् । ‘डार्क हर्स’ र ‘लाईट हर्स’ ।
केन्द्रका प्रमुख मुसहरप्रसाद साहले डार्क हर्स बग्गी तान्न र लाइट हर्स दौडका लागि प्रयोग हुने जानकारी दिए ।
केन्द्रले नेपाली सेनाका लागि चाहिने घोडाहरु जन्माउने र हुर्काएर नेपाल क्याभलरीलाई बुझाउने गरेको छ ।
अहिले घोडा र खच्चड गरेर ७३ ओटालाई केन्द्रले हेरचाह र पालनपोषण गर्दै आएको छ ।
वार्षिक टेन्डरमार्फत् घोडालाई दिइने सबै किसिमका खानाका लागि वार्षिक ८ लाख रुपैयाँ लाग्ने गरेको छ ।
२८ विगाहा २७ धुर क्षेत्रफलमा फैलिएको घोडा उत्पादन केन्द्रमा भाले र पोथी जातिका घोडालाई बेग्ला–बेग्लै तबेलामा राख्ने गरिएको छ ।
घोडा र खच्चडको रेखदेख र स्वास्थ्य उपचारका लागि केन्द्रमा दुईजना विशेषज्ञ डाक्टरसहित ५४ जना सैनिक खटिएका छन् ।
नेपाली सेनाको क्याभलरीले आफूलाई वार्षिक १५ ओटा घोडा आवश्यक रहेको बताउँदै आएको छ ।
क्याभलरीसँगै अरु स्थानहरुमा पनि घोडा पठाउँदा वर्षको कम्तीमा २५ घोडाहरु आवश्यक पर्ने केन्द्रले जनाएको छ ।
यो वर्ष केन्द्रले २० ओटा घोडा उत्पादन गर्ने लक्ष्य लिएको छ । अबको तीन वर्षमा मागअनुसारको घोडा उत्पादन गर्ने केन्द्रको तयारी छ ।
घोडामा आत्मनिर्भर हुन वार्षिक ३० ओटा घोडा उत्पादनको लक्ष्य लिइनुपर्ने र त्यसका लागि थप ५० ओटा पोथी र १० ओटा भाले घोडा आवश्यक पर्ने केन्द्रले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्