४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


पहिरोको चपेटामा दलित बस्ती


0
Shares

विनोद सिंह विष्ट

बैतडी, पुस २८ । बर्षौदेखिको पहिरोले बैतडीको डिलाशैनी गाउँपालिका–६, सौनगाउँ दलित बस्ती जोखिममा परेको छ । २०३९ सालमा खस्न सुरु भएको पहिरोले बर्षेनि दलित बस्तीलाई चपेटामा पार्दै आएको छ । 

बर्षामा मात्र नभई हिउँदमा समेत सुख्खा पहिरोले दुःख दिने गरेको स्थानीय शिवराम लुहारले बताए । ‘बर्षातको समयमा पहिरो बग्ने र हिउँदमा समेत जमिन चिरा परेर पहिरो खस्ने गरेको छ,’ उनले भने, ‘गाउँका ४७ घरपरिवार पहिरोको उच्च जोखिममा छौं ।’

आफूहरुसँग भएको सबै जमिन पहिरोले बगाईसकेको र घर बनाउनसमेत जमिन बाँकी नरहेको स्थानीय गोजे लुहारले बताए । आफ्नो पीडाका बारेमा स्थानीय र प्रदेश सरकारलाई समेत जानकारी गराईसकेको भए पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

पहिरोका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेकोे छ । २०३९ सालमा खस्न सुरु गरेको पहिरो वर्षेनि खस्दै आएको स्थानीय बताउँछन् । पहिरोकै कारण बालबालिकालाई विद्यालय जान समेत समस्या हुने गरेको छ ।