
जनकपुर, पुस २८ । धनुषाका अधिकांश विद्यालयमा कक्षा कोठाको अभावमा दुईभन्दा बढी कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइने गरिएको छ । जसका कारण विद्यार्थी र शिक्षक दुबैले हैरानी खेप्नुपरेको छ ।
विश्वकर्मा प्राथमिक विद्यालयमा दुईवटा मात्र कक्षाकोठा छ । एउटामा वालविकास कक्षा र अर्कोमा १ देखि ४ सम्मका विद्यार्थी पढ्ने गर्छन् ।
हामी विद्यालय पुग्दा विज्ञान विषय पढाई भइरहेको थियो तर विद्यार्थी संख्या भने जम्मा ७ । ‘अरु विद्यार्थी खै त ?’ भन्ने हाम्रो प्रश्नमा प्रधानाध्यापक जीवछ यादव ‘विद्यार्थी पुरै कक्षामा नै बस्दैनन्’ भन्दै पन्छिन खोजे ।
२०६६ सालमा कक्षा ४ सम्म पढाइ हुने गरी स्थापना भएको विद्यालयमा यस वर्ष ७७ जना विद्यार्थी भर्ना भएका थिए । सबै विद्यार्थी कहिल्यै पनि विद्यालय नआउने प्रधानाध्यापक यादव बताउँछन् । थोरै विद्यार्थी र कक्षा कोठाको पनि अभावले सबैलाई एउटै कक्षा राखेर पढाउनु परेको उनी बताउँछन् ।
बालबिकासमा पढ्ने १५ जना पनि विद्यार्थी छैनन् तर शिक्षिकाको संख्या भने तीन छ । कक्षा ४ सम्म पढाउन पनि तीन जना नै शिक्षक छन् ।
यस्तै, राष्ट्रिय प्राथमिक विद्यालयमा भने १ जना प्रधानाध्यापकले नै विद्यालय चलाइरहेका छन् । कार्यालय सहयोगीले पनि शिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । यस विद्यालयमा पनि फरक–फरक कक्षाका विद्यार्थीलाई एउटै कोठामा पढाउने गरिन्छ ।
जनता निम्न माध्यामिक विद्यालयमा पनि प्रत्येक कोठमा दुईवटा कक्षा संचालन हुन्छ । शिक्षक कक्षामा आउँछन्, विद्यार्थीलाई पढ्–पढ् भन्छन् अनि आफु भने बाहिरिन्छन् ।
यसरी सञ्चालन भइरहेका विद्यालयमा न त शिक्षकले विद्यार्थीलाई पढाउछन् न त विद्यार्थी नै केही प्रश्न सोध्छन् । शिक्षा क्षेत्रको सुधारका लागि बर्षेनी अरबौ रुपैंया खर्च हुन्छ । तर २ नम्बर प्रदेशका विद्यालयको अवस्थावारे सरोकारवाला निकायलाई जानकारी भए पनि सुधारका कुनै प्रयास थालिएको छैन ।
शिक्षण विधिको सामान्य मापदण्ड पनि पुरा नगरेका विद्यालयले कस्तो शिक्षा देलान् अनि त्यहाँ पढ्ने विद्यार्थीको शैक्षिकस्तर कस्तो होला ? यसतर्फ केन्द्र, प्रदेश र स्थानीय सरकार सजग हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्