Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


‘मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम’


0
Shares

दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा र बढी बोसो हुने बगुर र बँदेल) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन् ।

आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन्छ ।

चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले भने मुटुको अवस्था एवं रगतमा बोसोको अवस्थाबारे थाहा पाउन आफ्नो रगत (लिपिड प्रोफाइल) परीक्षण गर्न जरुरी भएको भक्तपुरको गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउत बताउँछन् ।

अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सीको बढी सेवनले दशैं दशा बन्ने गरेको बताउँँदै मुटुरोग विशेषज्ञ डा राउत भन्छन् “ज्यान बच्यो भने त मासु फेरि पनि खान पाइन्छ, एकै पटक धेरै मासु खाँदा मुटुरोग, उच्च रक्तचाप, डायबिटिज र युरिक एसिड भएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।”

नेपाल हृदयरोग प्रतिष्ठानका पूर्वअध्यक्ष डा प्रकाशराज रेग्मी पनि उच्च रक्तचाप र मुटुरोगीलाई दशैंमा बढी रातो मासु र मदिरा नखान सुझाव दिन्छन ।

दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीले बताए ।

अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्नाले दशैंमा र दशैंलगत्तै उच्च रक्तचाप र मुटुरोगी बढ्ने जानकारी डा रेग्मीले दिए ।

“दशैं भन्दैमा चिल्लो बढी भएको मासु र अन्य परिकार तथा पिरो खाने, रातभरी नसुतीकन तास खेल्ने, शरीरलाई आराम नदिने व्यक्तिलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ ”उनले भने ।

अन्य समयका तुलनामा दशैंमा मासु र मदिरा सेवनका कारणबाट हुने बिरामी धेरै आउने गरेको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताए।

अस्पतालले मुटुरोगको उपचार शुरु गरेसंँगै दशैंमा मुटु रोग, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या लिएर बढी बिरामी आउने भएकाले अस्पतालले आकस्मिक कक्षदेखि चिकित्सक्समेतलाई तयारी अवस्थामा राखिने जानकारी दिए ।