
क्यानडा, पुस २८ । साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ ।
इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न सँधै तत्पर रहने बताए ।
उनले संयुक्त राष्ट्रसंघले गरेको अपील अनुसार अल–कुननलाई शरण दिन तत्काल स्वीकृति दिएको जानकारी दिए ।
१८ वर्षीया अल–कुनन आफ्नो परिवारका साथ कुबेतको यात्रामा थिइन् । जहाँ उनले अस्ट्रेलिया जानका लागि विमान चढेकी थिइन् । अस्ट्रेलिया पुग्नका लागि बैंकक हुँदै जानुपर्ने भए पनि बैंकक विमानस्थलमा उनलाई केही अधिकारीहरुले रोक लगाएका थिए । त्यहाँबाट उनका परिवारको साथ फिर्ता गर्न खोजिएको थियो । तर उनी फर्कन चाहिनन् र बैंकककै एक होटलमा कोठा बन्द गरेर बसेकी थिइन् ।
त्यहीँबाट उनले ट्वीटरको माध्यमबाट आफ्नो सबै कहानी सार्वजनिक गरेकी थिइन् । त्यसपछि अन्तर्राष्ट्रिय रुपमा सञ्चारमाध्यमको ध्यान उनीप्रति खिचिएको थियो । त्यसपछि चर्चामा आएकी उनलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको थियो ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगले क्यानडाले गरेको फैसलाको स्वागत गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्