२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पृथ्वीनारायण शाहका दिव्योपदेश अहिलेपनि उत्तिकै सान्दर्भिक


52
Shares

राजेन्द्रप्रकाश ढकाल र गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, पुस २७ । जब पृथ्वीनारायण शाहलाई लाग्यो, म अब धेरै बाँच्दिनँ । आफ्ना नजिकका भाइभारदारलाई जम्मा गरेर यो मुलुकलाई कसरी जोगाएर अगाडि बढाउन सकिन्छ भन्ने आफ्ना खारिएको अनुभव बाँडे ।

त्यसलाई नेपालीले अहिले दिव्योपदेशकारुपमा बुझ्छन् ।

भावी पुस्ताले देश हाँक्दा के–के कुरामा ध्यान दिनुपर्छ भनी उनले दिएको उपदेश अहिलेको नेपाली राजनीतिका लागि पनि उत्तिकै महत्वपूर्ण देखिन्छ ।

अहिले चर्चा समावेशीको छ । राज्यसत्ता समावेशी हुन सकेन, एकल जाति र क्षेत्रको वर्चश्व भएको टिप्पणी गरिन्छ । शासनसत्तामा बसेकाले यसमा ध्यान नदिएको आरोप लाग्दै आएको छ ।

यो कुरा पृथ्वीनारायण शाहले उहिल्यै बुझेका थिए । उनले भने–‘मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो । सबैलाई चेतान भया ! यो फूलबारी छोटा बडा चारै वर्न र छत्तिसै जातले यसलाई सम्हार गर्नू ।’

सुशासन र भ्रष्टाचार नियन्त्रण नभए देउ उँभो लाग्दै भन्ने उनलाई थाहा थियो । आफ्नो उपदेशमा पृथ्वीनारायण भन्छन्–‘अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, ई राजाका महासतुर हुन् ।’

धान फल्ने खेतमा प्लटिङ गरिन्छ । विकासको मोडल धेरैलाई मन परेको छैन । यस्तो अवस्था आउला भन्ने सायद उनले पूर्वानुमान नै गरेका थिए । नत्र किने भन्थे–‘षानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पनि षानि चलाउनू । गह्रो बन्या जग्गामा घर भया पनि अरु जग्गामा सारी कुलो काटी षेत बनाइ आवाद गर्नू ।’

हाम्रा छिमेकीसँग कस्तो सम्बन्ध राख्ने अहिलेको राजनीति अझै अन्योलमा छ । उनले स्पस्ट बाटो देखाएका छन्–‘यो राजे दुई ढुंगाको तरुलजस्तो रहेछ । चीन बादशाहसित ठूलो घाहा राखनू । दषिनको समुद्रका बादशाहसित घाहा त राषनू । तर, त्यो महाचतुर छ, जाई कट्क नगनूँ । झिकी कटक गर्नू ।’

देशको समृद्धि चर्चामा छ । तर, समृद्धि कसरी ? बढ्दो व्यापार घाटा टाउको दुःखाइ बनेको छ । शासन चलाउनेलाई उनको अर्ति थियो–‘आफ्ना देशको जिनीस् जरिबुटि देस लैजानू र नगद षैचनू । नगद षैचि राषनू र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भन्डार भन्याका रैतानहरु हुन् ।

पहिचान अहिले सबैको चासोको विषय बनेको छ । चिन्ता छ, संस्कृति मासिँदै गएकोमा । भाइभारदारलाई सम्झाउँदै पृथ्वीनारायण भन्छन्–‘आफ्ना स्वष–सयेललाई ता शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरुको नाच झिकाइ हेर्‍यो भने पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहँन्छ । यस्व भया आफ्नु देस गमन रहन्छ ।’

देश कसरी चलाउने हाम्रो नेतृत्वले पृथ्वीनारायण शाहको दिव्योपदेश पढे पुग्छ ।