१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


दलहरुलाई उम्मेदवार छान्ने चटारो


0
Shares

दलहरु अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा लागेका छन् ।

प्रमुख दलमात्र नभइ अन्य दल पनि मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका छन् ।

प्रमुख दलहरुले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न स्थानीय तहका कमिटीलाई निर्देशनसमेत दिइसकेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले असोज १७ गतेभित्र सम्भावित उम्मेदवारको नामावली पठाउन साताअघि नै तल्लो इकाईलाई निर्देशन दिइसकेको छ ।

कांग्रेसले उम्मेदवारको नाम सिफारिस गर्दा निरन्तर क्रियाशील सदस्यता कायम रहेको, लोकप्रिय र स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गर्नेलाई प्राथमिकता दिने मापदन्डसमेत बनाएको छ ।

उम्मेदवार सिफारिस गर्दा प्रतिनिधिसभा र प्रदेशका लागि एक निर्वाचन क्षेत्रबाट महिलासहित बढीमा तीनजनाको नाममात्रै सिफारिस गर्न कांग्रेस केन्द्रीय कार्यसमितिले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि यसअघि नै उम्मेदवार सिफरिसका लागि मातहतका कमिटीलाई निर्देशन जारी गरिसकेको थियो ।

आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले स्थायी समितिलाई उम्मेदवार छनोटको मापदन्ड बनाउने अधिकार दिएको थियो ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आगामी निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउने गरी निर्वाचनको तयारी सुरु भइसकेको जानकारी दिए ।

एमालेले यसअघि नै स्थानीय तहको चुनावमा उम्मेदवार बनेका व्यक्तिहरू प्रदेश र प्रतिनिधिसभाका लागि पुनः आकांक्षा देखाउन नपाउने मापदन्ड बनाइसकेको छ ।

यस्तै, सत्तारुढ दलको एक घटक माओवादी केन्द्रले पनि उम्मेदवार चयनको कामलाई तीव्रता दिएको छ ।

जिल्ला तहबाट सर्वसम्मत् नाम पठाउने सहमति नभए तीनजनाको सिफारिस गर्न निर्देशन दिएको माओवादी केन्द्रले जनाएको छ ।

असोज १६ गते बस्ने बैठकले जिल्लाबाट सिफारिस भएका उम्मेदवारको नाम अन्तिम टुुंगो लगाउने माओवादी केन्द्रको तयारी छ ।

प्रमुख दलहरुमात्र नभइ अन्य दलहरुलेसमेत आगामी निर्वाचनका लागि उम्मेदवार छनोटका लागि छलफल सुरु गरिसकेका छन् ।

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ ।

यस्तै, आयोगले कात्तिक ५ मा पहिलो चरणको र १६ मा दोस्रो चरणका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

भिडियो हेर्नुहोस्