
आफ्नै जन्मभूमिमा फर्केर आएर दशैं मनाउने अवसर नपाएकाहरुले विदेशमा आफ्नै तरिकाले मनाउने योजना बनाइरहेका छन् । अमेरिकी डिभी चिठ्ठा परेर अमेरिकाको पेल्सिभेनियामा पुगेका इलामका दिनेश शर्मा भब्य दुर्गापूजाको तयारी गरिरहेको सुनाउँछन् ।
पेल्सिभेनियाको स्क्र्यान्टनको भूटानी शरणार्थी बस्तीमा रहेका शर्मा भुटानबाट लखेटिएर झापाका विभिन्न शिविरबाट अमेरिका पुर्नवास भएका सयौं भुटानी आप्रबासी र नेपालीहरु मिलेर भब्य दुर्गापुजाको तयारी भइरहेको बताउँछन् । ‘भुटानी शरणार्थी जीवन विताएर यहाँ आएका करिब ६ सय नेपालीहरुले यो दुर्गापुजाको आयोजना गरेका छन्, उनले भने,‘बाक्लै नेपाली बस्ती भएकाले दशैंको उल्लास छाएको छ ।’
स्क्रान्टनमा मात्र होइन ह्यारिसबर्गमा पनि दुर्गापुजाको भब्य तयारी भइरहेको छ । भुटानी अमेरिकी हिन्दु समाजले दशैं विशेष प्रवचनसहित लुइभेलमा तीनदिने दुर्गापुजाको भब्य तयारी गरेको छ । पेल्सिभेनियाको पिटर्सवर्कमा हिमालयन इभेन्ट एन्ड म्यानेजमेन्टले ‘सुर साँझ’ सांगीतिक कार्यक्रमको तयारी गरिरहेको छ ।
सन् १९९० मा भुटानबाट लखेटिएर झापा र मोरङका शरणार्थी शिविरको छाप्रोमा दशैं मनाएका करिब ९० हजार भुटानी शरणार्थी अमेरिकामा छन् । तेस्रो मुलुक पुर्नस्थापना कार्यक्रमअन्तरगत शरणर्थीलाई अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानाडा, डेनमार्क, नर्वे, न्युजिल्यान्ड, नेदरल्यान्ड्स लगायतका मुलुकमा बस्ने ब्यवस्था मिलाइएको छ । मेरिल्याण्ड, बाल्टीमोर, क्यासस, नर्थ क्यालोरिना, सिकागो, जर्जिया, ओहायो, वासिङटन डिसीलगायत २० राज्यमा भुटानी आप्रबासी छन् ।
कतिपय शरणार्थीका परिवारका सदस्यहरु एकैपटक अमेरिका पुर्नबास नभएपछि दशैं खल्लो हुने गरेको छ । परिवार तितरवितर बनेपछि चाडबाडमा खुशीयाली नआउने गरेको बताउँछन् । छाप्रोमा दशैंको बेग्लै रौनक हुने गरे पनि अमेरिकाको महलमा कतिपयको दशैं खल्लो हुने गरेको छ । यद्यपी, चिटिक्क परेका सुविधासम्पन्न घरमा बसेका भुटानी आप्रबासीहरु यसबर्षको दशैंलाई उल्लासमय बनाउने अभियानमा छन् ।
सांगीतिक कार्यक्रम, जमघट, दुर्गापुजा, नाचगान गरेर दशैं मनाउने सुरमा छन् । स्क्र्यान्टनमा रहेकी ६२ बर्षीया पूर्णमाया बाँनियाले टेलिफोनमा भनिन, ‘भुटानमा छँदाको दशैं त अब कहिल्यै नआउला तर शिविरमा पनि चाडबाडको बेग्लै मजा थियो अहिले अमेरिकामा पनि खुशीयालीमै दशैं मनाउने तयारी गरिरहेका छौं,’ उनले भनिन,– ‘नेपालीहरु धेरै संख्यामा भएकाले खिन्नता हुँदैन तर नेपालमा जस्तो हप्तादिनसम्म दशैं मनाउन पाइदैन ।’
साँगुरो र कच्ची छाप्रोमा बर्षौ गुजारेका भुटानीहरु सन् २००८ पछिका बर्षहरुमा विदेशका सुविधा सम्पन्न घरमा बसेर दशैं मनाइरहेका छन् । ढाका टोपी, दौरा-सुरुवाल, गुन्यू-साडीमा सजिएर आफन्त र छिमेकीहरुसँग दशैं मनाउँदा नेपालमै भएको अनुभुती हुने गरेको अमेरिका स्क्रयान्टनमा रहेकी सुजाता शर्माले बताइन् । अमेरिकामा बसेर दशैं मनाएकाहरुले हामीसँग अनुभव सुनाएका छन् ।
नन्द लागुन
पेन्सलभेनिया, अमेरिका
सन् २०११ को डिसेम्बरमा म अमेरिका आएको हुँ । धेरै नेपालीहरुको बसोबास भएकाले चाडबाड आउँदा रमाइलो नै हुन्छ । तर नेपालमा जस्तो भरपुर मजा हुँदैन । भुटानमा त झन बाल्यकालको दशैं अविस्मरणीय नै लाग्छ । गाउँमा लिङ्गे पिङ्गलगायत अन्य रमाइला खेलहरु खेल्न पाइन्थ्यो । यहाँ त्यस्तो छैन् । आफ्नोपन नै पाइदैन । यद्यपी, दशैं आउनुपूर्व नै यहाँ जमघट सुरु हुन्छ ।
हामी यहाँ ६ घर परिवार छौं । सबै आफन्त हुन । बृद्ध हजुरआमा हुनुहुन्छ त्यसैले ६ घरपरिवार नै एकठाउँमा भेला भएर टिका लगाउँछौं । म कलाकार पनि भएकाले नाचगान खुबै गर्छौं । यहाँ काटमारका लागि लाइसन्स लिनुपर्ने भएकाले बली दिन कडाइ गरिएको छ । तर गाउँघरतिरबाट मासु ल्याएर खाने चलन छ ।
सुजाता शर्मा
स्क्रयान्टन, अमेरिका
झापाको खुदुनावारी शिविरबाट सन् २०१० मा न्यूर्योक पुगेकी सुजाता शर्मा अहिले स्क्र्यान्टनमा बस्छिन् । दुई बर्ष न्यूयोर्क बस्दा चाडबाडमा खासै रमाउन नपाएकी उनी यसबर्ष स्क्र्यान्टनमा दुर्गापुजाको भब्य तयारी गरिहेकी छन् । भुट्नीज कल्चरल फाउन्डेसनको आयोजनामा तीन दिनसम्म ब्राम्हणलाई पाठ गराएर हुन लागेको दुर्गा पूजाको तयारीमा जुटिरहेको उनले सुनाइन ।
भुटान वा शिविरमा जस्तो पिङ्ग खेल्ने, टाढा टाढा आफन्तकोमा टिका थाप्न जाने अवसर नमिले पनि आफन्तहरु जमघट भएर दशैं मनाउछौं । दशैंका लागि जमरा पनि राखेका छौं । भुटानीहरुको सहयोगमा यहाँ कार्यक्रम हल पनि लिएका छौं । यसबर्ष देखि हलमै भब्य कार्यक्रम गर्ने योजनामा छौं ।
प्रतिक्रिया दिनुहोस्