
मनाङ, मुस्ताङ र गोरखाबाट ल्याइएका भेडाच्याङ्ग्रा किलोको एक हजार रुपियाँ भन्दा बढी पर्न गएको उपभोक्ताहरु बताउँछन् ।
बेसीशहर शेरा बस्ने जिवि घिमिरेले आफूले किनेको च्याङ्ग्राको मूल्य किलोको एक हजार रुपियाँभन्दा बढी परेको बताए ।
चीनको तिब्वतबाट ल्याइने च्याङ्ग्रालाई यहाँका ब्यापारीले मुस्ताङको लेते र गोरखाको लार्केमा गएर ल्याउँछन् ।
ब्यवसायीहरुले प्रतिगोटा २२ हजार रुपैयाँमा खरिद गरेर यहाँ २५/२६ हजार रुपैयाँमा विक्री गर्ने गरेका छन् ।
गत बर्षहरुमा दशैंलाई लक्षित गरेर सदरमुकाम बेसीशहरमा खसीबोका हाटबजार लगाइने गरिए पनि यसपटक भने सञ्चालन भएको छैन ।
हाटबजार सञ्चालन नहुँदा उपभोक्ता महंगोमा खसीबोका किन्न बाध्य भएका हुन् ।
उता, चरिचरनको अभावमा तेह्रथुमको उच्च क्षेत्रका बासिन्दाको पुख्र्यौली भेडापालन व्यवसाय लोप हुँदै गएको छ ।
अतिक्रमणका कारण चरण क्षेत्र मासिएपछि मानिसले पुस्तौंदेखि गर्दै आएको भेडापालन व्यवसाय छाड्न थालेका हुन् ।
त्यसैका कारण यो वर्षको दशैंमा जिल्लामा भेडा, च्याङ्ग्राको अभाव देखिएको छ ।
उच्च र लेकाली क्षेत्रका खाली जमीनमा अलैंची खेती र कतिपय बनलाई सामुदायिक बनको रुपमा संरक्षण गरिएका कारण भेडापालन व्यवसाय विस्थापित हुँदै गएको हो ।
अहिले उच्च क्षेत्रका टुटे, पाँचपोखरी, चौकी, गुफालगायत बजारमा भेडी गोठहरु कमै मात्र छन् ।
व्यवसायिक भेडापालनका लागि श्रीजुङ, पौठाक, खाम्लालुङ, ह्वाकु, ओख्रे, हमरजुङ, आङ्दिमलगायत गाउँ प्रसिद्ध छन् । तर ती गाउँमा पनि भेडा पाल्ने चलन हराउँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्