Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


ट्रम्पले दिए राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी


0
Shares

वासिंटन, पुस २७ । आफ्नो पूर्वप्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कंग्रेस तयार नभए राष्ट्रिय आपतकालको घोषणा गरी सीमामा पर्खाल लगाउने बताएका हुन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमणका क्रममा उनले राष्ट्रिय आपतकाल लगाउने चेतावनी दिएका हुन् । उनले यसअघि पनि राष्ट्रिय आपतकाल लगाउने चेतावनी दिएका थिए ।

तर, बुधबार टेलिभिजनमार्फत गरेको सम्बोधनका क्रममा उनले यसबारे केही बताएका थिएनन् । ट्रम्पले संघीय सरकारको कार्यसञ्चालन बजेटमा ५ अर्ब ७ करोड अमेरिकी डलर सीमा पर्खालका लागि व्यवस्था गरिनुपर्ने अडान लिएका छन् ।

सीमा क्षेत्रको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि मेक्सिकोले पनि रकम तिर्नुपर्ने अप्रत्यक्ष रुपमा बताएका छन् । तर, राष्ट्रपतिले माग गरेको बजेट दिन डेमोक्रेटिक पार्टी तयार भएको छैन । यसले गर्दा संघीय सरकारको कार्यसञ्चालन बजेटसम्बन्धी विधेयक अड्किएको छ र संघीय सरकारका आंशिक कार्यालयको काम विगत २० दिनदेखि ठप्प छन् ।

संघीय सरकार कार्यालयमा कार्यरत ८ लाखभन्दा बढी कर्मचारीले तलब पाउन सकेका छैनन् । (रासस)