‘बाटो, पुल निर्माण पहिलो काम’ • Image Khabar Image Khabar


‘बाटो, पुल निर्माण पहिलो काम’


Imagekhabar
१२ आश्विन २०७४, बिहीबार १५:०९

‘बाटो, पुल निर्माण पहिलो काम’

दुई दशकदेखि अवरुद्ध स्थानीय विकासले अब जनप्रतिनिधिको उपस्थितिसँगै गति पाउने विश्वास राख्दै जनताले मतदान गरेका उनीहरुको बुझाइ छ ।

बाटो, शिक्षा र स्वास्थ्य नै ग्रामीण विकासको मुल मुद्दा बनेपछि उम्मेदवारहरुलेसमेत निर्वाचनका बेला विकासकै वाचा जनतासमक्ष पेस गरेका थिए ।

सामान्य पुल नहुँदा वर्षात्को समय बाराका दर्जनौं गाउँहरु हप्तौ दिन सदरमुकाम र राजमार्गसँग सम्बन्धविच्छेद हुने गरेका छन् ।

बाटो नभएकै कारण एम्बुलेन्स जान नसक्ने, ग्रामीण कृषि उत्पादनहरु बजार लैजान नपाउने पीडामा स्थानीयहरु रहेका छन् ।

ग्रामीण सडक अवरुद्ध हुँदा गाउँलाई परेको पीडा आफूलाई अनुभव रहेको बताउँदै जितपुर–सिमराका निर्वाचित प्रतिनिधि नवराज खड्काले पहिलो काम बाटो निर्माण गर्ने बताउँछन् ।

अर्का निर्वाचित वडाध्यक्ष रामबाबु पटेललेसमेत बाटो, पुल बनाइ आफ्नो वडालाई सडक सञ्जालसँग जोड्दै अरु वडाभन्दा राम्रो वडा बनाउने बताउँछन् ।

जितपुर–सिमरा उपमहानगरका प्रमुख कृष्ण पौडेलले नगरमा बाटोघाटो पुलपुलेसालाई निर्माण गर्दै हरित नमुना नगरी बनाउने बताए ।

बाटो, शिक्षा र स्वास्थ्यबाहेक पनि बाराको ग्रामीण क्षेत्रको अर्को समस्या भनेको ग्रामीण सिँचाइ र खोलाको तटबन्ध हो ।

भोट माग्न र विजयी भएपछि जनताका दैलामा पुगेका जनप्रतिनिधिहरुलाई स्थानीयले विकासमा जुट्न सुझाएका छन् ।

स्थानीय तहका मुल समस्या बुझेका उम्मेदवारहरुले आफ्नो घोषणापत्रमै विकासलाई प्राथमिकता दिने उल्लेख गरेका थिए ।

विगतमा राष्ट्रिय राजनीतिमा भूमिका खेल्नसक्ने प्रतिनिधि जिल्लाबाट चयन गरेर पठाउँदासमेत जिल्लाभित्रको आन्तरिक विकासमा उनीहरुले चासो नदेखाएपछि स्थानीय जनताले विकासको काम स्थानीय तहका जनप्रतिनिधिसँग हुने आशा राख्दै दबाब दिएका हुन् ।

ग्रामीण जनताका मुख्य सरोकारमा निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता आशालाग्दो हुने विश्वास बारावासीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्