
विराज रोस्यारा
कैलाली, असार १७ । असारको दोस्रो हप्ता सकिँदासम्म पनि पानी नपरेपछि कैलालीका किसान चिन्तित भएका छन् । खडेरीका कारण रोपाइँ हुन नसक्दा यहाँका किसान चिन्तित भएका हुन् ।
विगतका वर्षहरुमा असारको दोस्रो सातासम्ममा ६५ प्रतिशत रोपाइँ हुने कैलालीमा यस वर्ष ४० प्रतिशतमात्रै रोपाइँ पनि सकिएको छैन । यो वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् ।
आकाशेपानीको घरमा खेती गर्ने किसान आकाशतिर हेरेर टोलाइ रहेका छन् । केही किसानले भूमिगत बोरिङ र पम्पसेटको सहायताले रोपाइँ गरेका छन् । तर अधिकांश किसानको खेत बाँझै छ । खडेरीका कारण भूमिगत बोरिङको पानी पनि सुक्दै गएकाले रोपाइँ गर्न नसकेको कैलारी गाउँपालिका–५ पवेराका किसान राजाराम चौधरीले बताए ।
गुरगी सिँचाइ आयोजना सञ्चालन आए आफूलाई सहज हुने किसानहरु बताउँछन् । तर आयोजना नहुँदा सिँचाइको असुविधाले रोपाइँ गर्न नपाएको गुनासो किसानको छ ।
पवेराका किसान बुधराम चौधरीले आयोजना सञ्चालनका लागि सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नहुँदा आफूहरु सधैं मारमा पर्दै आएको बताए ।
साविकको बसौटी, हसुलिया, पवेरा, रतनपुर गाविसको खेत सिञ्चित हुने गुरगी सिँचाइ आयोजना दशक अगाडि भत्केपछि बनाइएको छैन । सिचाइँ आयोजनाको बाँध भत्केसँगै भूमिगत बोरिङ वा अकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । सुख्खाले ब्याड र रोपाइँ गरिएको खेतमा धान सुक्न थालेको कैलारी गाउँपालिका–७ बसन्ताका कान्छा चौधरीले बताए ।
कृषि विकास महाशाखाका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले सिंचाईको असुविधाका कै कारण यस वर्ष कैलालीमा कममात्र रोपाइँ भएको बताए । उनले सिँचाई सुविधा उपलब्ध गराउने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
कैलालीमा ९० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । तर, ४२ हजार हेक्टरमा मात्र बाह्रै महिना सिँचाई सुविधा उपलब्ध छ । २७ हजार हेक्टरमा भने सिँचाइको आंशिक सुविधा छ ।
प्रतिक्रिया दिनुहोस्