
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज अन्तिम साता दलहरुले उम्मेद्वारको नामावली निर्वाचन आयोगलाई बुझाउनुपर्ने छ ।
यही समयसिमालाई मध्यनजर गर्दै दलहरु उम्मेद्वार चयनमा होमिएका छन् ।
स्थानीय तहको निर्वाचन सकिए लगत्तै दलहरुले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तिव्रता दिएका छन् ।
असोज मसान्तभित्र दलहरुले निर्वाचन आयोगलाई उम्मेद्वारको सुची बुझाईसक्नुपर्ने भएकाले दलहरुलाई अहिले उम्मेद्वार छान्ने चटारो छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा पठाउन स्थानीय तहका मातहतका कमिटीलाई समयसिमा नै तोकेका छन् ।
त्यहि समयसिमालाई मध्यनजर गरेर दलका स्थानीय कमिटीले पनि सके सहमतिमा नभए आकांक्षीहरुको सुची केन्द्रमा पठाईरहेका छन् ।
दलहरुले आगामी निर्वाचनको लागि उम्मेद्वार छनोटको मापदण्डसमेत बनाइसकेका छन् ।
दलहरुले अबको केही दिनमै स्थानीय कमिटीबाट आएका उम्मेद्वारको नाम केन्द्रबाट टुंगो लगाउने तयारी गरेका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आगामी निर्वाचनको लागि उम्मेद्वार छनौट गर्ने प्रक्रिया चलिरहेको जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि उम्मेद्वार बन्न आवश्यक मापदण्ड बनाएर स्थानीय मातहतका कमिटीलाई सर्कुलर जारी गरिसकेको छ ।
एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आगामी निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउने गरी निर्वाचनको तयारी सुरु भईसकेको जानकारी दिए ।
एमालेले यसअघि नै स्थानीय तहको चुनावमा उम्मेदवार बनेका व्यक्तिहरू प्रदेश र प्रतिनिधिसभाका लागि पुनः आकांक्षा देखाउन नपाउने मापदण्ड बनाइसकेको छ ।
यता माओवादी केन्द्र आगामी निर्वाचनका लागि उम्मेद्वार छान्ने काममा अगाडि देखिएको छ । माओवादी केन्द्रका अधिकांश जिल्ला कमिटीले उम्मेद्वारले नामावली केन्द्रमा पठाईसकेका छन् ।
असोज १६ गते बस्ने बैठकले जिल्लावाट सिफारीस भएका उम्मेद्वारको नाम अन्तिम टुुंगो लगाउने माओवादी केन्द्रको तयारी छ ।
प्रमुख दलहरुले मात्र नभई अन्य दलहरुले पनि आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको कामलाई तिव्रता दिईरहेका छन् ।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ ।
यस्तै, आयोगले कात्तिक ५ मा पहिलो चरणको र १६ मा दोस्रो चरणका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ
प्रतिक्रिया दिनुहोस्