
ती बस्ती नेपाल र भारतको सीमामा पर्दछन् । करीब ४६ घर परिवार रहने यस बस्तीलाई राष्ट्रिय विकासको मूलधारमा राज्यले अझै समावेश गर्न सकेको छैन ।
यहाँका नागरिक आधारभूत सेवासुविधाबाटसमेत बञ्चित हुँदै आएका छन् ।
महाकाली नदीको झोलुङ्गे पुल तरेपछि करिब १२ किलोमिटर थप दक्षिण र पश्चिम हिँड्ने हो भने अर्को जोगबुढा नदी आइपुग्छ ।
जोगबुढा पारी पनि नेपाली बस्ती छरिएर रहेका छन् । भारतीय सीमा क्षेत्रमै उनीहरुका घर छन् ।
कतिपयका त घर नेपालमा छन् तर आँगन भारतमा । उनीहरु नेपालमा बाली फलाउँछन् बिस्कुन भारतमा सुकाउँछन् ।
यी वस्ती हुन् करिव ४२ घरधुरी रहेको महाकाली नगरपालिका वडा नं. १० को कुतियाकर र १८ नम्बर पिल्लर बस्ती । जहाँ अहिलेसम्म न त स्कुल छ न विजुली वत्तीनै पुगेको छ ।
वल्लो घरबाट पल्लो घर जान भारतको भूमी प्रयोग गर्नुपर्ने बाध्यता छ । राज्यबाट निकै पछि परिएको यो गाउँका वासिन्दा भारतीय सुरक्षा बलबाटसमेत प्रताडित हुने गरेका छन् ।
महाकाली नगरपालिकाको कुतियाकवर र १८ नम्वर पिल्लर बस्ती यस्तो गाउँ हो, जहाँ हिउँदमा समेत पनि बाढीले सताउँछ ।
जोगबुढा र महाकाली नदीको दोभानमा छन् यी बस्ती । भारतीय सुरक्षाकर्मीले पटकपटक वस्ती खाली गर्न दबाब दिँदै आएको स्थानीयको गुनासो छ ।
यहाँका अधिकांस मानिस रोजगारीका लागि भारतमा जाने गरेका छन् । महिलाहरु पनि सिमावर्ती भारतीय खेतवारीमा मजदुरी गर्ने गर्दछन् ।
बेला–बेलामा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले सिमा क्षेत्रमा गरेको ज्यादतीले वस्तीमा सन्त्रासा छाउने गरेको छ । उनीहरुको आवाज सरकारले सुन्न सकेको छैन ।
गाविस हुँदै महाकाली नगरपालिकाका बासिन्दा हुँदा पनि यहाँका नागरिकले विद्यालय, विजुली बत्तीलगायतको सुविधा पाउन सकेका छैनन् ।
उनीहरुसँग एकथान नेपाली नागरिकताबाहेक केही पनि छैन । विकासका पूर्वाधार पुग्नै सकेको छैन भने शान्ति त धेरै टाढाको विषय भएको उनीहरुको भनाइ छ ।
भारतीय सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकले दिनहुँ कष्ट सहँदा पनि राज्यले उनीहरुका आवाज सुन्न चाहेको छैन ।
यो वस्तीका सबै नागरिकको एउटै माग छ– सरकारले नेपाली भूमिको रक्षा गर्दै आफूहरुलाई नेपाली भएको गर्व गर्ने वातावरण बनाइदिओस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्