१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रामचन्द्र पौडेल पुत्र चिन्तनको नाम जिल्ला कार्यसमितिले हटायो


0
Shares

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ५१ जनाको नाम केन्द्रमा सिफारिस भएको हो ।

क्षेत्रीय समितिमा दर्ता भएका आकांक्षीको नाम मंगलबार जिल्ला कार्यसमितिमा पठाइएको थियो ।

जिल्ला कार्यसमितिको बैठकले मंगलबार नै बैठक बसी सबै नाम केन्द्रीय समितिमा पठाएको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए ।

नेपाली कांग्रेस लमजुङकाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाले दाबी गरेका छन् भने समानुपातिकतर्फ ९ जनाले दाबी गरेका छन् ।

यसैगरी, प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फबाट २१ जना र समानुपातिकतर्फ १६ जनाले दाबी गरेका थिए ।

क्षेत्रीय समितिले सिफारिस गरेको एउटा नाम भने जिल्ला कार्यसमितिले हटाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलको नाम जिल्ला कार्यसमितिले हटाएको हो ।

तनहुँको ब्यास नगरपालिका (साविक रिस्ती गाविस)का पौडेलले लमजुङ क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दाबी गरेका थिए ।

जिल्लामा कहिल्यै नदेखिएका व्यक्ति उम्मेदवारको आकांक्षी भएको भन्दै जिल्ला कार्यसमितिले सर्वसम्मतरुपमा नाम हटाएको हो । रासस