Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मन्त्रीलाई देवलाई २४ घन्टे स्पष्टीकरण, सीइओ पोखरेललाई प्यूठान छाड्न निर्देशन


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आचारसंहिताविपरीत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सरुवा गरेको भन्दै मन्त्री देवलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आयोगको सहमतिबिना निर्वाचन आचारसंहिताविपरीत महानिर्देशक गौतमलाई स्वेच्छाचारी र बदनीयत ढंगले सरुवा गरेको आयोगको ठहर छ ।

यसैगरी, निर्वाचन आयोगले पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छाड्न निर्देशन दिएको छ ।

डा. पोखरेल प्यूठानस्थित नेपाली कांग्रेसको पार्टी कार्यक्रममा सहभागी भएको भन्दै आयोगले यस्तो निर्देशन दिनुका साथै २४ घन्टे स्पष्टीकरणसमेत सोधेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्राधिकरणका प्रमुख पोखरेललाई प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ ।

प्राधिकरणका प्रमुख पोखरेलले असोज १० देखि १८ गतेसम्म प्यूठानका विभिन्न स्थानमा कांग्रेस कार्यकर्तासँग भेटघाट गरेको र कांग्रेस जिल्ला कमिटीले उनको नाम आगामी निर्वाचनका लागि उम्मेदवारमा पनि सिफारिस गरेको सूचना प्राप्त भएअनुसार आवश्यक छानबिन गर्दा आचारसंहिता उल्लंघन भएको आयोगले ठहर गरेको जनाइएको छ ।