
चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै आएका डा. केसी शिक्षण अस्पताल परिसरमै अनशनमा बसेका हुन् ।
अनशनमा बस्नुअघि बिहीबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवदेनलाई तोडमोड गरी चिकित्सा शिक्षा ऐन पारित गर्न लागेको र ११औंपटकको अनशनमा गरिएको सम्झौता तोडमोड गरेकाले फेरि अनशन बस्नुपरेको बताए ।
उनले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनमुखी र विद्यार्थीमुखी नभइ माफियामुखी ऐन जारी गर्ने प्रयास भइरहेको बताए ।
उनले स्वास्थ्य शिक्षासम्बन्धी उच्च मापदन्ड बनाउनु पर्ने, सरकारले तोकेकोभन्दा १० लाख रुपैयाँ बढी शुल्क लिने काठमाडौं विश्वविद्यालयको निर्णयलाई खारेज गर्नुपर्ने माग गरेका छन् ।
यस्तै, एमबीबीएसका लागि सरकारले तोकेको काठमाडौंभित्र ३५ लाख ५० हजार र काठमाडौंबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लागू गर्नुपर्ने माग पनि उनको रहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन गराउन सुुरु गर्नेगरी बजेट विनियोजन गर्नुपर्ने, डोटी, डडेल्धुरा, धनुषा, महोत्तरी उदयपुर, पाँचथर तेह्रथुमजस्ता स्थानमा तत्काल सरकारी मेडिकल कलेज खोल्नुपर्ने र बर्खास्त गरिएका आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कालाई कारबाही गर्नुपर्ने माग पनि डा. केसीका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्