१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कैलालीमा कांग्रेसका २४३ जना आकांक्षी, प्रधानमन्त्री पत्नी राणाको नाम सर्वसम्मत् भएन


0
Shares

नेपाली कांग्रेस कैलालीले जिल्लाका पाँचओटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम बिहीबार केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत् प्रत्यक्ष र समानुपतिकतर्फ उम्मेदवार हुन चाहने आकांक्षीमध्ये एक महिलासहित तीन/तीनजनाको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएकोमा आकांक्षी बढी भएपछि सबैको नाम सिफारिस गर्नुपरेको कांग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले बताए ।

कांग्रेसले प्रधानमन्त्रीका पत्नी डा. आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर–५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।

यो क्षेत्रमा डा. राणाको पक्षमा सर्वसम्मति हुन नसकेपछि सांसदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, प्रभावशाली नेता सुनिलकुमार भण्डारी, युवा नेता क्षितिज भण्डारी र गणेश देउवाकोसमेत नाम सिफारिस गरिएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर–१ बाट सांसदद्वय ईश्वरी न्यौपाने र बुद्धिसागर चौधरी, नारायणदत्त मिश्र र डा. रणबहादुर रावलसहित ८ जना, क्षेत्र नम्बर–२ बाट कमल शाह, मानबहादुर महतो र हेमबहादुर रावल, क्षेत्र नम्बर–३ बाट गोविन्दराज जोशी, खेमराज चौधरी, मोहनराज मल्ल र पर्शुराम चौधरी, क्षेत्र नम्बर–४ बाट डा. लक्ष्मीराज पाठक, प्रकाश बम, सुनीलकुमार भण्डारी र हीरादत्त भट्टसहित पाँचजनाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर–१ बाट पूर्वसांसद गंगाबहादुर कुँवर, जंगबहादुर साउद, फकिरसिं कडायत, लक्ष्मण न्यौपाने, धर्मराज न्यौपानेसहित १४ जना, क्षेत्र नम्बर–२ बाट लोकबहादुर महतो, जनक बम, देवानन्द जैशी, दलवीर साउद, उत्तम जोशी, लब शाही, कृष्ण पाण्डेसहित २० जना, क्षेत्र नम्बर–३ बाट रामचरण चौधरी, दीपकराज जोशी, भीम बडुवाल, वीरबहादुर हमालसहित १५ जना, क्षेत्र नम्बर–४ बाट पदमराज भट्ट, वीरेन्द्र भट्ट, शेरबहादुर देउवा, भोजबहादुर बम, रामबहादुर कलेल, दिनेश जोशी, यज्ञराज चौधरी र वीरबहादुर हमालसहित १६ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर–५ बाट कांग्रेसका जिल्ला सभापति नरनारायण शाह, आनन्दराज जोशी, नारायण भट्ट, हरिश खड्का, कृष्णबहादुर महरा, जीवन राना, गणेश देउवा, क्षितिज भण्डारी, केशव मिश्रसहित २२ जनाको नाम केन्द्रमा पठाइएको छ । रासस