११ असार २०८२, बुधबार | Thu Jun 26 2025


प्रत्यक्षभन्दा समानुपातिकमा आकांक्षी धेरै, सभामुख घर्ती पनि समानुपातिकमा


0
Shares

समानुपातिकतर्फका आकांक्षी धेरै देखिएपछि यहाँका राजनीतिक दलले आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेका हुन् ।

नेपाली कांग्रेसको गत असोज १६ र १७ गते सदरमुकाममा बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिँचाइ राज्यमन्त्री तथा जिल्ला पार्टी सभापति अमरसिं पुनको नाम सिफारिस गरेको छ ।

यसैगरी, प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नम्बर–१ बाट माधवप्रसाद आचार्य, नारायणप्रसाद सुवेदी, मिश्री हमाल, रेगबहादुर सुवेदी, सिमबहादुर विष्ट, दलसिं कामी, हरिबहादुर राना र कविता उपाध्यायको नाम सिफारिस गरेको छ ।

यसैगरी, क्षेत्र नम्बर–२ बाट पूर्वसहायकमन्त्री भीमकुमारी बूढाको नाम प्रतिनिधिसभाका लागि समानुपातिकबाट सिफारिस भएको छ ।

प्रदेशसभामा क्षेत्र नम्बर–१ बाट पार्टी जिल्ला सचिव शेरबहादुर महराको नाम सिफारिस गरिएको छ भने सोही क्षेत्रबाट समानुपातिकतर्फ पूर्वसांसद लेखनाथ आचार्य, विद्यार्थी नेता मनोजमणि आचार्य, तीजा विष्ट, श्रीकुमारी रोका, मनिकला राना, पुष्पा श्रेष्ठ, पदम विष्ट र देवा आचार्यको नाम सिफारिस भएको छ ।

यसैगरी, क्षेत्र नम्बर–२ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ खटकबहादुर खत्री, खगेन्द्र हमाल र दीपक श्रेष्ठको नाम सिफारिस भएकोे छ ।

सो निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ प्रदेशसभाका लागि झक्कुप्रसाद घर्ती, बमबहादुर रोका, मोहन परियार, धनबहादुर रसायली, टीका थापा, शंकबहादुर छन्त्याल र टेकबहादुर बस्नेतको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ ।

यसैगरी, नेकपा एमालेको असोज १९ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य गोकुलप्रसाद घर्तीको नाम सर्वसम्मत् सिफारिस गरेको छ ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ कुमार दशौदीको नाम सिफारिस गरेको सो पार्टीले प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ बाट पर्शुराम घर्ती र क्षेत्र नम्बर–२ बाट जिल्ला पार्टी अध्यक्ष हरिप्रसाद घर्तीको नाम सिफारिस गरेको छ ।

प्रदेशसभाका लागि भने समानुपातिकतर्फ सो पार्टीले पृथ्वीप्रसाद रोका, नेपबहादुर डाँगी, मनसिं डाँगी र राजकुमार कक्षपतिको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रको असोज १५ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि पार्टीका ५ नम्बर प्रदेश इन्चार्ज एवं पूर्वअर्थमन्त्री वर्षमान पुनको नाम सर्वसम्मत् सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ सभामुख ओनसरी घर्ती र महिला नेत्री जयपुरी घर्तीको नाम सिफारिस गरेको छ ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर–१ को प्रत्यक्षतर्फ जोखबहादुर महरा र कुलप्रसाद केसीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ चन्द्रबहादुर बूढा, मीना बूढामगर, पवनकुमार कवर, ओमबहादुर पुन, सीता आचार्य, राजकुमार कवर र इन्द्रबहादुर रोकाको नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नम्बर–२ बाट प्रत्यक्षमा दीपेन्द्र पुनको नाम सर्वसम्मत् सिफारिस गरेको सो पार्टीले समानुपातिकतर्फ सुरेन्द्र घर्ती, टोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुन, हरिसरा घर्ती, भक्तबहादुर वली र काशीराम बुढामगरको नाम सिफारिस गरेको छ ।

जिल्लामा अन्य राजनीतिक दललेसमेत धमाधम उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरिरहेका छन् ।

एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गरेलगत्तै पार्टी एकतासमेत गर्ने निर्णयले जिल्लामा उम्मेदवार सिफारिसमा केही अन्योल देखिएपनि पनि दुवै पार्टीबाट आएका नाम हाल जस्ताको तस्तै सिफारिस गरिएको ती पार्टीले बताएका छन् ।

निर्वाचनमा अत्यधिक मात्रामा पैसा खर्च हुने तथा प्रत्यक्षतर्फ जितकोसमेत सुनिश्चितता नभएकाले समानुपातिकतर्फ धेरैको अकांक्षा बढेको बताइएको छ । रासस