११ असार २०८२, बुधबार | Thu Jun 26 2025


झापामा प्रमुख तीन दलले उम्मेदवार सिफारिस गरे (नामावली)


0
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसले झापाका तीनओटा निर्वाचन क्षेत्रमा सर्वसम्मतरुपमा उम्मेदवार सिफारिस गरेको छ भने दुईओटा क्षेत्रमा दुईभन्दा बढीको नाम पठाएको छ ।

झापा क्षेत्र नम्बर–१ बाट विश्वप्रकाश शर्मा, ३ बाट कृष्णप्रसाद सिटौला र ४ बाट देउमान थेवेको नाम सर्वसम्मत् सिफारिस गरिएको कांग्रेस झापाले जनाएको छ ।

त्यस्तै क्षेत्र नम्बर–२ बाट उद्धव थापा, सरिता प्रसाइँ, सुधीरकुमार शिवाकोटी र राजेश खड्का तथा क्षेत्र नम्बर–५ बाट केशवकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम केन्द्रीय समितिमा पठाइएको छ ।

यसैगरी, कांग्रेस झापाले प्रदेशसभा सदस्य निर्वाचनका लागि १० ओटा निर्वाचन क्षेत्रमा २६ जनाको नाम सिफारिस गरेको छ ।

त्यस्तै, नेकपा एमाले झापाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर–१ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर–२ बाट पवित्रा निरौला खरेल, क्षेत्र नम्बर–३ बाट पुष्पराज पोखरेल, क्षेत्र नम्बर–४ बाट लालप्रसाद (एलपी) सावा र क्षेत्र नम्बर–५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मतरुपमा सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३८ जनाको नाम सिफारिस भएको उनले बताए ।

यसैगरी, नेकपा माओवादी केन्द्र)े पनि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर–१ बाट बोधराज दाहाल र प्रकाश भण्डारी, क्षेत्र नम्बर–२ बाट सुरेन्द्रकुमार कार्की, क्षेत्र नम्बर–३ बाट धर्मशीला चापागाइँ, मोहन टुडु र मेघप्रसाद रेग्मी, क्षेत्र नम्बर–४ बाट झलकसिंह दर्लामी र मणिकुमार साम्पाङ तथा क्षेत्र नम्बर–५ बाट रेवतराज पुरी र राधिका ओझाको नाम सिफारिस गरिएको माओवादी केन्द्रका कार्यालय सचिव चुडेन्द्रकुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २६ जनाको नाम सिफारिस गरेको उनले बताए ।

माआवादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङले पार्टीको शीर्ष तहमा विभिन्न राजनीतिक दलहरुबीच तालमेलको कुरा भइरहेकाले केन्द्रको निर्देशनबमोजिम अघि बढ्ने पनि स्पस्ट पारे ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार छनोट गर्न क्षेत्रीय समितिको बैठक बोलाइएको जिल्ला सभापति अम्बरबहादुर विष्टले जानकारी दिए ।

क्षेत्रीय समितिको सिफारिसका आधारमा उम्मेदवार चयन गरी नाम केन्द्रमा पठाइने उनले बताए । रासस