
एमाले सोलुखुम्बुको बुधबारदेखि जारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतिनिधिसभाका लागि पार्टी जिल्ला अध्यक्षसमेत रहेका मानवीर राईको नाम सर्वसम्मतिमै सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता सोनाम ग्याल्जेन शेर्पा र सरस्वती कुलुङलाई सिफारिस गरेको प्रचार विभाग सचिव वीरउदास श्रेष्ठले जानकारी दिए ।
प्रदेशसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ बाट बुद्धिकुमार राजभण्डारी र समानुपातिकतर्फ आङङिमा लामाको नाम सर्वसम्मत् सिफारिस गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर–१ मा सर्वसम्मत् उम्मेदवार छनोट गर्न नसक्दा आकांक्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको छ ।
बैठकले क्षेत्र नम्बर–१ बाट नेता उत्तम बस्नेत, जुद्धबहादुर कार्की, डिबी किराती, भीमराज राई र लोचनकुमार शर्मालाई सिफारिस गरेको हो ।
समानुपातिकतर्फ कल्पना गिरी बस्नेत, डिल्लीबहादुर राई र धनकुमार विश्वकर्मालाई सिफारिस गरिएको छ ।
नेकपा माओवादी केन्द्र सोलुखुम्बुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । प्रतिनिधिसभाका लागि पोलिटब्युरो सदस्य शिबबहादुर बस्नेतलाई सिफारिस गरेको छ ।
यस्तै, प्रदेशसभाका लागि क्षेत्र नम्बर–१ बाट पोलिटब्युरो सदस्य हेमकुमार राई र क्षेत्र नम्बर–२ बाट पूर्वसांसद आङदावा शेर्पालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी, नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रभुराम बस्नेतको नाम छनोट गरेको छ ।
प्रदेशसभाको क्षेत्र नम्बर–१ का लागि प्रत्यक्षतर्फ जिल्ला सभापति विनोदकुमार बस्नेत, जिल्ला सचिव धनजन राई र समानुपातिकका लागि कुसराज राई र जयप्रसाद राईलगायतको नाम तय गरेको जिल्ला सचिव धनजन राईले जानकारी दिए ।
त्यस्तै, प्रदेशको क्षेत्र नम्बर–२ का लागि प्रत्यक्षतर्फ आङगेलु शेर्पा, कुसाङ शेर्पालगायतको नाम पठाइएको राईले जानकारी दिए ।
क्षेत्र नम्बर–२ को समानुपातिकका लागि प्रेमबहादुर थापामगर र भोजराज कार्कीलगायतको नाम पठाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्