२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमालेसँग पार्टी एकताको प्रस्ताव आफैंले राखेको दाहालको खुलासा


0
Shares

शनिबार राजधानीमा आयोजित सो पार्टीको केन्द्रीय राजनीतिक प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

एमाले उपाध्यक्ष बामदेव गौतमले आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गर्न प्रस्ताव ल्याएको र सोही प्रस्तावमाथि छलफल गर्दै जाँदा पार्टी एकतासम्मको निर्णयमा पुग्न सफल भएको अध्यक्ष दाहालको भनाइ थियो ।

पोलिटब्युरो सदस्यमाझ अध्यक्ष दाहालले भने–‘समाजवादी क्रान्तिको अभियान घिसेपिटे तवरले चल्दैन भन्नेमा हामी पनि पुगेका थियौं । एमालेका तर्फबाट पनि वामपन्थी आन्दोलनलाई नयाँ आधारमा अगाडि बढाउने भन्ने प्रस्ताव आयो । उहाँहरु माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने तहमा आइपुग्नुभयो र एकता संयोजन समिति गठन भयो ।’

उपाध्यक्ष वामदेवसँग आफ्नो लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र सो सम्बन्धले पनि एकता प्रक्रियामा सहयोग पुगेको भन्दै अध्यक्ष दाहालले विगतमा पनि तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र झलनाथ खनालसँग पार्टी एकताका विषयमा पटक–पटक छलफल भएको स्मरण गरे ।

संविधानले व्यवस्था गरेको समाजवाद लागू गर्न सानोतिनो शक्तिले काम नगर्ने भन्दै उनले ‘बृहत् वाम ध्रुवीकरणलेमात्रै नेपाली जनताको यो महान् लक्ष्य प्राप्त हुने विश्वासका साथ एकता प्रक्रिया अगाडि बढाउन आफूहरु सहमत भएको’ स्पस्ट पारे ।

अध्यक्ष दाहालले पार्टी एकतालाई समयको आवश्यकता र राष्ट्रिय चाहनाको संज्ञा पनि दिए ।

उनले भने–‘माओवादीभित्र कसरी भयो यस्तो सोच्दै–नसोचेको काम भन्ने आशंका छ । यो सफल हुन्छ त भन्ने चिन्ता र चासो पनि छ । तर, चुनौती उठाएरै एकता प्रक्रियामा सहभागी हुन लागिएको हो । यसले नेपाल र नेपाली जनताको हित गर्छ । आशंका गर्नुको कुनै अर्थ रहँदैन ।’

स्थानीय तहको निर्वाचनकाक्रममा नै एमालेबाट तालमेलको प्रस्ताव आएको स्मरण गर्दे अध्यक्ष दाहालले चार महानगरमध्ये दुई/दुर्ईओटा बाँडौं भन्ने विषयमा कुरा भएपनि त्यतिखेर कुरा मिल्न नसकेको तर हाल आएर सफल भएको बताए ।

उनले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने लक्ष्यका साथ आफूहरु अगाडि बढेको स्पस्ट पारे ।

उनले भने–‘विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर, नेपालका कम्युनिष्टलाई जनताको अपार समर्थन र विश्वास छ । त्यसलाई मर्न दिनु हुँदैन । विभिन्न धारमा रहेका कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याएरमात्र नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ । समाजवादी क्रान्तिको तयारीमा लाग्ने वैचारिक प्रतिबद्धतासहित पार्टी एकताको तयारीमा जुटेका छौं ।’

‘पार्टी एकता कसैले–कसैलाई निल्ने विषय होइन, यो त समान उद्देश्यका लागि वैचारिक एकतासहित नयाँ उचाइमा पुग्ने प्रक्रिया हो’–प्रशिक्षणमा अध्यक्ष दाहालले भने–‘हाम्रा आ–आफ्नै मान्यता र दृष्टिकोण छन् । त्यसमा अडिएर एकता हुँदैन । एमाले–माओवादी दुवैले बहसको प्रक्रियाद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हामी आफैंपनि रुपान्तरणको प्रक्रियामा छौं । कम्युनिष्ट आन्दोलन र सिंगो राष्ट्रलाई रुपान्तरण गरेरमात्र विश्वलाई नयाँ सन्देश दिन सकिन्छ ।’

‘हाम्रो चुनावी समीकरण र पार्टी एकता प्रयास कसैकाविरुद्ध छैन, नेपालमा वैचारिक धारमा नजिक रहेका पार्टी मिल्दा नै देश र जनताको हित हुन्छ’– उनले भने ।

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट क्रान्तिकारी र वामपन्थीको एकता राष्ट्रको हितमा भएको बताए ।

प्रशिक्षणमा नेता श्रेष्ठले भने–‘स–साना समूहमा रहेर समाजवादको कार्यभार पूरा गर्न सकिँदैन । समाजवादका पक्षधर सम्पूर्ण शक्ति एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । हाम्रो एकता र सहकार्यको प्रयास राष्ट्रको हितमा छ । यो प्रयासलाई खुट्टा नकमाइकन एकतामै लाग्ने संकल्प गर्नुपर्छ ।’

प्रशिक्षणमा अर्का नेता रामबहादुर थापाले पार्टी एकता एमालेको माओवादीकरण र माओवादीको एमालेकरण नभएको बताए ।

नेता थापाले भने–‘बजारमा माओवादीको एमालेकरण वा एमालेको माओवादीकरणजस्ता प्रायोजित विषय उठाइएको छ । माओवादी एमालेमा विलय हुने होइन, एमाले माओवादीमा विलय हुने कुरापनि होइन । बरु, दुवैले आफ्ना दृष्टिकोण र मान्यताबाट माथि उठेर क्रान्तिको नयाँ सिद्धान्त निर्माण गर्ने र नयाँ पार्टी निर्माण गर्ने हो ।’

प्रशिक्षणमा कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, मातृका यादव, पम्फा भुसाल, लेखराज भट्ट, हितमान शाक्यलगायतका नेताले जोखिम मोलेरमात्रै देशको राजनीति र जनताको जीवनमा कायापलट गर्न सकिनेमा जोड दिँदै बहसको माध्यमद्वारा एकतालाई तार्किक निष्कर्षसम्म लैजानुपर्ने बताए । रासस