
आइतबार पोखरामा सो पार्टीको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले दक्षिणपन्थी अवसरवादी गठबन्धनलाई वाम गठबन्धन भन्न नसकिने बताए ।
वाम गठबन्धनका नाममा कलंक भएको भन्दै वैद्यले सच्चा क्रान्तिकारी कम्यूनिष्टहरु एक ठाउँमा आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
अध्यक्ष वैद्यले प्रचण्डको निरन्तरताको क्रमभङ्गको भनाईलाई उल्टो क्रमभङ्ग भएको संज्ञा दिए । उनले नेपालमा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामले धोका दिएर प्रतिक्रियावादी कित्तामा पुगेपछि नयाँ जनवादी क्रान्ति पूरा गर्ने जिम्मेवारी आफूहरुको भएको भन्दै अब क्रान्ति पूरा गर्नका लागि फौजी हस्तक्षेपसहितको कार्यनीति तय गर्न लागेको बताए ।
पार्टीका उपाध्यक्ष चन्द्रप्रकाश गजुरेलले क्रान्तिकारी कम्प्यूनिष्ट पार्टीहरुको धु्रवीकरणको आवश्यकतामाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामसिंह श्रीस, स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, नेकपा मसालका केन्द्रीय सदस्य राम प्रकाश पुरी, नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली लगायतका वक्ताहरुले सम्मेलनले क्रान्तिकारी कम्यूनिष्ट पार्टीको एकतामा जोड दिएका थिए ।
सम्मेलनमा देशभरीबाट ४ सय बढी प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्