सीट संख्या नमिलेपछि लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदल सकसमा • Image Khabar Image Khabar


सीट संख्या नमिलेपछि लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदल सकसमा


Imagekhabar
२३ आश्विन २०७४, सोमबार ०८:३३

सीट संख्या नमिलेपछि लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदल सकसमा

कांग्रेससँग सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रलाई पार्टी एकतासम्म गर्ने अभिलाषा देखाउँदै कांग्रेस कित्ताबाट खोस्दै चुनावी तालमेल गर्ने निर्णय एमालेले गरेपछि कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धनको प्रयास थालेको थियो ।

मुलुकका दुई ठूला दलको नेतृत्वमा अलग अलग गठबन्धन घोषणा गरिए पनि आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सीटमा गठबन्धनकारी दलको चित्त बुझाउनु दुबैका लागि फलामे चिउरा चपाउनुसरह बनेको देखिँदैछ ।

आइतवार नै सीट बाँडफाँड सकाउने भनेको वाम गठबन्धन अझै टुंग्गोमा पुग्न सकेको छैन भने लोकतान्त्रिक गठबन्धनमा त अरु दलले नसोचेको ढंगले सीट दावी गरेपछि नेतृत्वकर्ता कांग्रेस झस्किएको छ ।

तराई-मधेशलाई आफ्नो आधार मान्ने कांग्रेसलाई मधेशलाई नै केन्द्र बनाएर राजनीति गरिरहेका दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभातर्फ ५५ सीट दाबी गरेपछि निल्नु न ओकल्नुको अवस्था आएको हो ।

लोकतान्त्रिक गठबन्धनमा आवद्ध भनिए पनि तराईमा साझा उम्मेदवार उठाउने अलग्गै सहमति गरेका राजपा र संघीय फोरमले ५५ सीट मागेपछि कार्यदलमा रहेका कांग्रेस नेताहरुले यो विषय आफ्नो तहबाट टुंग्याउन नसकिने भन्दै शीर्ष नेताको तहमा पुर्‍याएका छन् ।

कार्यदलबाहेक राजपा नेताहरु र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पनि कांग्रेस नेताहरुले छलफल गरेपनि सहमति बन्न सकेको छैन । दुई दलले प्रदेश २ मा मात्र ३२ मध्ये २४ सिट आफूहरुले पाउनु दावी गरेका छन् ।

यस्तै, राजपा र फोरमले प्रदेश सभामा पनि प्रत्यक्षतर्फ देशभरका ३३० मध्ये १३१ सिटमा दावी गरेको छ । यो दावीपछि कांग्रेस झस्किएको हो । त्यसमा दुई राप्रपाले देशभरबाट १५ सीट आफूलाई छाड्नुपर्ने दावी गरेका छन् ।

उता, एमाले र माओवादी केन्द्रले पनि सीट बाँडफाँड गर्न सकेका छैनन् । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सीट मिलाउने समझदारी गरेपनि नयाँशक्तिले आफूलाई १५ प्रतिशत सीट दावी गरेको छ ।

तीनै दल निष्कर्षमा पुग्न सकेका छैनन् । आज बस्ने बैठकले सीट बाँडफाँडको खाका ल्याउन सक्ने एमाले महासचिव इश्वर पोखरेलको आशा छ ।

दुबै कार्यदलमा जीत सुनिश्चित हुने उम्मेदवार र क्षेत्र तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणामलाई आधार मानेर क्षेत्र छुट्टाइने भन्ने सैद्धान्तिक सहमति छ । तर अझै कुनै निष्कर्ष नभएको हो ।

प्रतिक्रिया दिनुहोस्