Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


सेनाले यसरी गरिरहेछ द्रुतमार्ग निर्माणको काम, ९० पुल र तीनओटा सुरुङ बन्ने (भिडियो)


0
Shares

अक्कल कुँवर (इमेज)

बारा, पुस २४ । काठमाडौंलाई छोटो समयमै तराई–मधेस जोड्ने बहुप्रतिक्षीत काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि निर्माणकार्यले गति लिएको छ ।

नेपाली सेनाले द्रुतमार्ग निर्माणका लागि विभिन्न ९ स्थानमा अस्थायी क्याम्प राखेर काम गरिरहेको छ भने ललितपुरको खोकनामासमेत थप क्याम्प राख्ने तयारी गरेको छ ।

एकाध स्थानमाबाहेक द्रुतमार्ग निर्माणको काम सामान्यरुपले अघि बढिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनामध्ये एक काठमाडौं–निजगढ द्रुतमार्ग एसियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर नेपाली सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक काम गरिरहेको छ ।

परियोजनाको नयाँ विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) भने दक्षिण कोरियाली कम्पनी सुसुङले आगामी माघ २० गतेभित्र दिने तयारी गरेको छ ।

यो द्रुतमार्गमा ९० ओटा पुल र तीनओटा सुरुङ बन्नेछन् ।

द्रुतमार्ग निर्माण गरिरहेको नेपाली सेनाले पहिलेको प्रस्तावमा पुनःविचार गर्दै केही स्थानमा सुरुङ बनाउने प्रस्ताव गरेपछि पुलको संख्या घट्ने भएको हो ।

पछिल्लो प्रस्तावअनुसार १.४ किलोमिटरको सुरुङ लेनडाँडामा प्रस्तावित छ भने अर्को सुरुङ ३.३ किलोमिटरको सुरुङ महादेवटारमा प्रस्ताव गरिएको छ ।

यसअघि, १.३७ किलोमिटर सुरुङ ठिंगन क्षेत्रमा प्रस्ताव गरिएको थियो । अन्य दुई स्थानमा सुरुङ थप हुने भएपछि पहिलेको प्रस्तावभन्दा ९ ओटा पुलको संख्या घट्ने भएको छ ।

पहिलेको प्रस्तावमा ६२ ठूला र अन्य साना पुल गरी ९९ पुल प्रस्ताव गरिएको थियो । पुलका लागिमात्रै विभिन्न ६ ओटा निर्माण कम्पनी सूचीकृत भइसकेका छन् ।

प्रस्तावित ७६.२ किलोमिटर लामो काठमाडौं–निजगढ द्रुतमार्गलाई १० भागमा विभाजन गरेर २८ ओटा कन्ट्याक्टरमार्फत् काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

बाराको निजगढ, जिरोकिलो क्षेत्रको सडक निर्माणको जिम्मेवारी सम्हालिरहेका नेपाली सेनाका प्राविधिक सेनानी रमेश मरासिनीले तराई क्षेत्रमा पर्ने सडक २७ मिटर र पहाडी क्षेत्रमा पर्ने सडक २५ मिटर चौडाइ प्रस्ताव भएअनुसार नै काम भइरहेको जानकारी दिए ।

द्रुतमार्गमा पर्ने कुल एक हजार ५६९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ८९९ रोपनीमात्रै अधिग्रहण भएको छ ।

द्रुतमार्गअन्तर्गत् ललितपुरको खोकना र बुङमतिमा जग्गा अधिग्रहणसम्बन्धी विवाद टुंगिएको छैन । बाँकी जग्गा अधिग्रहण गर्ने काम रक्षा मन्त्रालयमार्फत् भइरहेको छ ।

नेपाली सेनाले २०७४ साउन २७ गतेदेखि द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको थियो ।

हालसम्म सेनाले निजगढको जिरोकिलोदेखि ७.६ किलोमिटर ‘रिफिलिङ’को काम अन्तिम चरणमा पुर्‍याएको छ ।

द्रुतमार्गमा पर्ने २० हजार २०९ रुखमध्ये १९ हजार ६४६ रुख कटान गरिसकेको नेपाली सेनाले जनाएको छ ।

आयोजना निर्माणमा नेपाली सेनाका एक हजार २०० सैनिक खटिएका छन् ।

भिडियो हेर्नुहोस्