२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वाम गठबन्धनका शीर्ष नेताबीच छलफल, के भयो कुरा ?


0
Shares

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा मंगलबार बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो ।

शीर्ष नेताले वरिष्ठ कानुन व्यवसायी तथा पूर्वमहान्यायाधिवक्तासँगसमेत छलफल गरेका थिए ।

राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणालीअनुसार जाने कि एकल संक्रमणीय मतका आधारमा जाने भन्ने विषयमा छलफलकेन्द्रित थियो ।

छलफलमा सहभागी सांसद रामनारायण बिडारीले राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे छलफल भएको जानकारी दिए ।

राष्ट्रियसभाको चुनावसम्बन्धी संवैधानिक व्यवस्था र त्यसमा देखिएका असहजतालाई सहज बनाएर कसरी अघि बढ्ने भन्ने सम्बन्धमा पनि शीर्ष नेताले छलफल गरेका थिए ।

व्यवस्थापिका–संसदले प्रक्रियामा लैजान लागेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक सोहीरूपमा अगाडि बढाउनुपर्ने धारणा सहभागीहरुले व्यक्त गरेका थिए ।

एमाले र माओवादी केन्द्रबीचबीच एकता प्रक्रिया अगाडि बढेपछि नेपाली कांग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राखेको छ ।

राष्ट्रियसभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिनेछन् भने तीनजना मनोनीत हुनेछन् ।

यस्तै, बैठकमा सरकारका तर्फबाट माओवादी केन्द्रका मन्त्री हटाउने वा सरकार विस्तार तयारीप्रतिसमेत शीर्ष नेताले कानुन व्यवसायीसँग छलफल गरेका थिए ।

कानुन व्यवसायीले भने सरकारले मन्त्री हटाउने वा सरकार विस्तार गर्न नपाउने धारणा राख्दै निर्वाचन आचारसंहिता र अन्य संवैधानिक एवं राजनीतिक कारणले पनि त्यसो गर्न नपाइने धारणा राखेका थिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पूर्वकानुनमन्त्री एवं सांसद अग्नि खरेललगायत सहभागी थिए ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलगायत सहभागी थिए ।

बैठकमा उम्मेदवारी चयनमा कार्यदलले गरेका प्रगतिबारे पनि छलफल भएको र शीघ्र सहमति जुटाउने सहमतिसमेत भएको थियो । रासस