
तीन दिनभित्र भागबन्डाका आधारमा क्षेत्रको टुंगो लगाउने सहमति गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच कुरा मिल्न नसक्दा उम्मेदवार चयनमा ढिलाइ भएको हो ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६०/४० को भागबन्डा गरेपनि एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाउन नसकेका हुन् ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ असोज २९ गते उम्मेदवारको बन्दसूची बझाउनुपर्ने कार्यसूची निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्नुपर्नेछ ।
तर, वाम गठबन्धनमा ६०/४० को भागबन्डा भएपनि कुन निर्वाचन क्षेत्रमा कसले कति सिट लिने भन्ने विषयमा अझै सहमति हुन सकेको छैन ।
गठबन्धनमा रहेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले आन्तरिकरुपमा आफ्नो सूची ल्याएपनि भागबन्डाका आधारमा उम्मेदवारको टुंगो लगाउन नसकेका हुन् ।
उम्मेदवार छनोट कार्यदलका सदस्यहरुले उम्मेदवारीका विषयमा सहमतिनजिक पुगिरहेको दाबी गरेका छन् । तर, पार्टीहरुभित्रको आन्तरिक विवादले टुंगोमा भने पुग्न नसकेको कार्यदलकै सदस्यहरु बताउँछन् ।
गठबन्धन उम्मेदवारको टुंगो लगाउन चार दिनदेखि नेताहरु छलफलमा बसिरहेका छन् ।
यसैबीच, बृहत् लोकतान्त्रिक मोर्चा बनाउन सक्रिय रहेको नेपाली कांग्रेसले पनि कुन–कुन पार्टीलाई मोर्चामा आबद्ध गराउने भन्ने टुंगो लगाउन सकेको छैन ।
कांग्रेसले गठबन्धनमा सहभागी दलहरुलाई १६५ मध्ये कति सिट दिन सकिन्छ भन्ने अझै निर्क्यौल गर्न सकेको छैन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकले बढी सिट माग गरेकाले कांग्रेसलाई अप्ठ्यारो परेको हो ।
मोर्चामा आबद्ध हुन चाहने दलहरुले बढी अपेक्षा गरेका कारण कांग्रेसले एक्लै चुनावमा जाने रणनीतिसमेत बनाउन थालेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्