२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वामपन्थी गठबन्धनलाई निर्वाचन क्षेत्र बाँडफाँडमा सहमति जुटाउन सकस


0
Shares

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच आगामी निर्वाचनमा एक भएर जाने सहमति भए पनि क्षेत्र बाँडफाँडमा समस्या देखिएको हो ।

सबै दलले आफूले बढी र जित्ने क्षेत्र तातेका कारण पनि सहमतिमा समस्या भएको हो । सहमतिका लागि कार्यदल गठन गरिएको भए पनि अहिलेसम्म त्यसले ठोस निर्णय गर्न सकेको छैन ।

माओवादी र नयाँ शक्तिले बढी सिट दाबी गरेका कारण क्षेत्र बाँडफाँडमा सहमति नजुटेको एमालेका नेताहरु बताउँछन् ।

तर निर्वाचन क्षेत्र बाँडफाँड गर्ने कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले भने धेरैजसो सिटको बाँडफाँड सहमतिमा टुंगिए पनि केही ठाउँमा मिलाउनुपर्ने बताएका छन् ।

विवाद देखिएका क्षेत्रमा कार्यदलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरिरहेको बताइएको छ ।

कार्यदलले प्रदेश नम्बर १ का अधिकांश क्षेत्रको टुंगो लगाइसकेको जनाएको छ । बाँकी क्षेत्रमा पनि विवाद कम गर्दै सहमतिको प्रयास भइरहेको बताइएको छ ।

एमाले र माओवादी केन्द्रबीच ६०/४० को अनुपातमा निर्वाचन क्षेत्र बाँडफाँड गर्ने सहमति भएको थियो ।

दुवै दलले नयाँ शक्तिलाई केही स्थान दिएर बाँकी रहेका क्षेत्रमा समानुपातिक रुपमा सिट संख्या निर्धारण गर्ने सहमति भए पनि एउटै निर्वाचन क्षेत्रमा सबै दलले दाबी गरेका कारण सहमतिमा समस्या परेको बताइएको छ ।