
समितिको बिहीबार सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु आवभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिइ सोहीबमोजिम कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, उपकरण र अन्य साधन–स्रोत परिचालन गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक पर्ने गिट्टी, ढुंगा, माटो र विद्युत्को नियमित आपूर्ति हुने व्यवस्था सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, आपूर्ति मन्त्रालय र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।
गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलाइ भएको सन्दर्भमा समितिले गम्भीर चासो लिइ सरोकार भएका निकाय पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), विमानस्थल आयोजना प्रमुखलगायतसँग दुई दिन छलफल गरेको थियो ।
उक्त आयोजनाको भौतिक एवं वित्तीय प्रगति सन्तोषजनक नरहेको बताइन्छ ।
समितिले आयोजना सम्पन्न हुने समय सकिन अब केही महिनामात्र बाँकी रहँदा २६/२७ प्रतिशत भौतिक र २३ प्रतिशतमात्र वित्तीय प्रगति हुनुले आयोजना समयमा सम्पन्न हुन नसक्ने र सुरुको अनुमानित लागतभन्दा बढी लाग्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।
समितिका सभापति डोरप्रसाद उपाध्यायले ठेकेदार, आयोजना प्रमुख, क्यान र मन्त्रालयलेसमेत आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह नगर्दा आयोजनाको अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएको पाइएको बताए ।
उनले आयोजना समयमै सम्पन्न नभएमा सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिने निर्णय भएको बताए ।
बैठकले जग्गा अधिग्रहण र मुआब्जा वितरणको कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्न आग्रह गरेको छ ।
त्यसैगरी, जग्गाको मुआब्जा वितरण गर्दा लाग्ने पुँजीगत लाभकरसम्बन्धी विवादका कारण मुआब्जा वितरण र आयोजना प्रभावित भएको सन्दर्भमा सो समस्यालाई सम्बन्धित मन्त्रालयको समन्वयमा नीतिगतरुपमा समाधान गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले स्थानीय आपूर्तिकर्ताबाट नियमित निर्माण सामग्री आपूर्ति हुने वातावरण बनाउन तथा ठेकेदार कम्पनीले प्राप्त गरेको भुक्तानी र सम्पन्न कामबीचको अनुपात यकिन गरी सोहीबमोजिम काम गराउन र कार्य सम्पन्न भएको प्रतिवेदन हरेक महिना समितिलाई उपलब्ध गराउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएकोे छ ।
बैठकमा धनराज गुरुङ, चुडामणि जंगली, रामहरि खतिवडालगायतका सांसदले आयोजना निर्माणका जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ ले पूर्णरुपमा जिम्मेवारी लिइ फिल्डमा काम नगरेकै कारण निर्माणकार्यमा ढिलाइ भएको र यसमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्