Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


कोरिया छाडेर खोरियामा रमाउँदैः मासिक ३० हजार आम्दानी


0
Shares

बलेवा । पाँच वर्ष पहिला कोरिया पुगेका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए ।

काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उनी कोरिया पुगे । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किए ।

कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किए । उनले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाले ।

आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उनले १० बाख्रबाट बाख्रापालन थालेका हुन् ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै रु तीन लाख खर्चिएका थिए । ‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उनले कुखुरापालनसँगै तरकारीखेती गर्दै आएका छन् ।

“बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु,” उनले भने । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त अम्दानी गर्दै आएका छन् ।

“महीनैपिच्छे आम्दानी हुने भए पछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु,” उनले भने ।

अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उनलाई कोरियाको झल्को मेटाएको छ ।

महीनामा खर्च कटाएर रु ३० हजार आम्दानी हुन्छ । उनको काममा श्रीमती हेमाले सहयोग गर्दै आएका हुन् ।

आचार्यले आधुनिक मिनीटेलर हलोको प्रयोग गरी खेती गर्छन । पाँच मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् ।

“झण्डै दुई सय केराको बिरुवा लगाएको छु,” उनले भने, “दुई वर्षमा रु १५ लाखको केरा बेच्ने योजना छ ।”

लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको सङ्ख्यामा कमी आएको उनी बताउँछन् ।

समयअनुसारको आयमूलक खेती गर्ना आचार्यले सुझाव दिए । रासस

Skip This