Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


भूकम्पपीडितको लाभग्राही सूचीमा परेर सम्झौता गर्न नआउनेको खोजी हुँदै


0
Shares

लमजुङ । लमजुङमा भूकम्पपीडितको लाभग्राही सूचीमा परे पनि अनुदान सम्झौता गर्न नआउनेको खोजी गर्न थालिएको छ ।

निजी आवास पुनर्निर्माण कार्यक्रम सुरु भएको डेढ वर्ष बितिसक्दा पनि पहिलो किस्ताकै रकम लिन नआउनेहरुको खोजी गर्न थालिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान व्यवस्थापन गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङले अनुदान सम्झौता गर्न नआउने लाभग्राहीको खोजी सुरु गरेको हो ।

सम्झौता गर्नेबित्तिकै घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाइने व्यवस्था छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइका फोकल पर्सन शिव रेग्मीले लाभग्राही सूचीमा परेर पनि सम्झौता गर्न नआउने लाभग्राहीको अवस्थाबारे जानकारी दिन स्थानीय तहलाई पत्राचार गरिएको बताए ।

कार्यालयका अनुसार लमजुङमा निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा १३ हजार ९ सय ५९ जना छन् ।

प्रबलीकरण सूचीमा परेका ५ सय ३९ मध्ये २ सय ९८ जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ लगेको इकाइले जनाएको छ ।

लाभग्राहीमा परेका मध्ये करिब ४ सय ३० जनाले भने पहिलो किस्ताबापतको अनुदान सम्झौता गरेका छैनन् ।

लाभग्राही सूचीमा नपरेको भन्दै ६ हजारभन्दा बढीले गुनासो फारम भरेका छन् ।