
एकमात्र सिट रहेको प्रतिनिधिसभा सदस्यका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट माओवादी स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
मनाङको नेसोङ गाउँपालिकाको ओडार गाउँ निवासी गुरुङ २०६४ को संविधानसभा निर्वाचनमा मनाङ र कास्की–१ बाट निर्वाचित भएका थिए ।
२०७० को संविधानसभा निर्वाचन बहिस्कार गरेका गुरुङ यसअघि २०४८ मा वाम गठबन्धनबाटै लमजुङबाट निर्वाचन लडेका थिए ।
यस्तै, नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्तीले प्रतनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
घर्ती यसअघि २०६४ को निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ मा पराजित भएका थिए भने २०७० को संविधानसभामा समानुपातिकबाट सभासद बनेका थिए ।
प्रतिनिधिसभामा एक स्वतन्त्रसहित अरु साना राजनीतिक दलका नेताहरुले पनि उम्मेदवारी दिएका छन् ।
संघीय समाजवादी फोरम नेपालबाट खेमजंग गुरुङ, नयाँ शक्ति पार्टी नेपालबाट देवेन्द्र पराजुली, नेकपा क्रान्तिकारी माओवादीबाट सुरेशचन्द्र न्यौपाने, विवेकशील साझा पार्टीबाट निर्देश सिलवाल, राष्ट्रिय जनमुक्ति पार्टी नेपालबाट यामबहादुर थापामगर, जनसमाजवादी नेपालबाट निराजन कुँवर, देशभक्त समाजबाट मेत्तर गुरुङले उम्मेदवारी दिएका छन् ।
यस्तै, नेपाली कांग्रेससँग असन्तुष्ट रहँदै स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका द्धारिका मिश्रले यसपटक पनि प्रतनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’मा वाम गठबन्धनबाट एमाले लमजुङका जिल्ला अध्यक्ष धनञ्जय दवाडीले उम्मेदवारी दिएका छन् ।
कांग्रेसबाट गर्जबहादुर गुरुङ, संघीय समाजवादी फोरमबाट शेषबहादुर गुरुङ, नयाँ शक्तिबाट जिल्ला संयोजक राजु थापा, राप्रपा प्रजातान्त्रिकबाट बजिरमान गुरुङ, जनसमाजवादी पार्टी नेपालबाट बुद्धिमान परियार र विवेकशील साझा पार्टीबाट तुलसी गुरुङले उम्मेदवारी दिएका छन् ।
यस्तै, प्रदेशसभाको क्षेत्र नम्बर ‘ख’मा वाम गठबन्धनबाट एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाट प्रदेश नम्बर–४ को मुख्यमन्त्रीकारुपमा चित्रण गरिएका गुरुङ लमजुङमा २०३४ सालदेखि निरन्तर चुनावी मैदानमा छन् ।
२०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर–२ बाट निर्वाचित गुरुङ २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।
प्रदेशसभाको ‘ख’मा कांग्रेसबाट पार्टीका निवर्तमान जिल्ला सभापति कृष्ण कोइरालाले उम्मेदवारी दिएका छन् ।
यस्तै, संघीय समाजवादी फोरमबाट सुरेशकुमार गुरुङ, नयाँ शक्ति पार्टीबाट सरोज दनाइँ, राप्रपा प्रजातान्त्रिकबाट रमेशराज पाण्डे, जनसमाजवादी पार्टीबाट हर्के सार्की, विवेकशील साझा पार्टीबाट मुनिन्द्र थापा र स्वतन्त्रबाट उत्तम गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाले भने नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी दिएको छैन ।
आइतबार उम्मेदवारी दर्ता गराउन विभिन्न पार्टीका नेता–कार्यकर्ताहरु बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्