
पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेविरुद्ध जिल्लामा क्रियाशील ठुला दलसहित अन्य साना दल मिलेर घेराबन्दी गरे पनि अहिले भने लोकतान्त्रिक र बाम गठबन्धन गरी दुई ध्रुवमा यहाँका दल विभाजित देखिएका हुन् । यसअघि स्थानीय तहको निर्वाचनमा अधिकांश तहमा यहाँ नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाललगायतका दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेका थिए ।
जिल्ला समन्वय समिति गठनमा एमालेलाई सघाएको माओवादी केन्द्रलाई भने राष्ट्रिय राजनीतिमा भएको बाम गठबन्धनका कारण प्रतिनिधि सभाका लागि बाम गठबन्धनको तर्फबाट भोजपुर जिल्ला भागमा पारेको छ । प्रतिनिधि सभाका लागि एक क्षेत्र रहेको यहाँ माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सुदन किराँतीको उमेदवारी रहेको छ ।
विगतका निर्वाचनमा समेत बाम गठबन्धनले जित्दै आएको र आफ्नो पुरै समय भोजपुरे जनताका लागि खर्चिएकाले आफुले निर्वाचन जित्नेमा किराँती विश्वस्त छन् ।
संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीलाई सघाउने भएको छ । लोकतन्त्रको रक्षाका लागि आफु निरन्तर लडिरहेकाले आफु जित्नेमा रायमाझी पनि विश्वस्त देखिएका छन् ।
राप्रपा, खम्वुवान राष्ट्रिय मोर्चालगायत साना दलले समेत लोकतान्त्रिक गठबन्धनअन्तर्गत कांग्रेसलाई सघाउने भएका छन् ।
यता, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाट प्रतिनिधि सभाका उम्मेदवार तथा सो पार्टीका जिल्ला संयोजक डिल्लीराम बोहरा देशभक्त क्रान्तिकारी मोर्चा बनाएर आफै चुनाव लडेर चुनावलाई सदुपयोग गर्ने बताउँछन् ।
प्रतिनिधि सभाका लागि एक र प्रदेशका लागि दुई क्षेत्र रहेको भोजपुर जिल्लामा प्रदेश तर्फ क्षेत्र(क) मा बाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य राजेन्द राई, (ख) बाट पूर्व सञ्चारमन्त्री शेरधन राईले उमेदवारी दिएका छन् ।
यस्तै लोकतान्त्रिक गठबन्धबाट (क) मा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अजम्वर काङ्माङ र (ख) बाट नेपाली कांग्रेसका गोविन्द कार्कीको उम्मेदवारी रहेको छ ।
यस्तै प्रतिनिधि सभामा ठुला गठबन्धन बाहेक मंगल नेशनल अर्गनाइजेशनका चन्द्रप्रसाद राई र संघीय लोकतान्त्रिकका केदार राईको उम्मेदवारी रहेको छ ।
यस्तै प्रदेशतर्फ पनि साना राजनीतिक दलको समेत मनोनयन परेको छ । (क) तर्फ स्वतन्त्र उमेदावर गरी साना ६ ओटा दलको मनोनयन रहेको छ । प्रदेश तर्फ (ख) मा भने दुई बाम गठबन्धन सहित साना दल गरेर ६ ओटा दलका उमेदवारको मनोनयन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्