
निर्वाचनमा मूलतः कम्युनिष्ट र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।
पहाडी जिल्ला सिन्धुपाल्चोकमा पनि यिनै गठबन्धनका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबीचको लोकतान्त्रिक र नेकपा एमाले–माओवादी केन्द्रबीचको कम्युनिष्ट गठबन्धनबीच जिल्लामा सीधा टक्कर हुने भएको हो ।
दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने भएपछि अघिल्ला मत र परिणाम दुवैमा फरक पर्ने देखिएको छ । ध्रुवीकृत राजनीतिले जिल्लाको माहोल नै तताएको छ ।
एमाले र माओवादीबीच कम्युनिष्ट गठबन्धन बनेपछि लोकतान्त्रिक ध्रुवमा रहेका दलहरुलाई पनि एउटै छातामा आउनुपर्ने दबाब बढेको थियो ।
जसअनुसार केन्द्रीय राजनीतिअनुरुपै सिन्धुपाल्चोकमा पनि क्षेत्र बाँडफाँट गरेर दलहरु चुनावी मैदानमा ओर्लिएका छन् ।
प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्रमा दलहरुले तालमेल गरेर उम्मेदवार उठाएका छन् ।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा कम्युनिष्ट गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वसन्चारमन्त्री अग्निप्रसाद सापकोटा उम्मेदवार बन्दा लोकतान्त्रिक गठबन्धनबाट कांग्र्रेसका नेता एवं बहालवाला सन्चारमन्त्री मोहनबहादुर बस्नेत मैदानमा उत्रिएका छन् ।
सोही क्षेत्रको प्रदेशसभामा कम्युनिष्ट गठबन्धनबाट ‘क’ र ‘ख’ दुवैमा एमालेका अरुण नेपाल र सुरेश नेपाल उम्मेदवार बन्दा लोकतान्त्रिकका तर्फबाट क्रमशः कांग्रेसका विष्णुबहादुर खत्री र राजेन्द्रकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभातर्फ २ नम्बर क्षेत्रमा भने कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका अध्यक्ष अध्यक्ष पशुपतिशमशेर राणा उम्मेदवार बन्दा कम्युनिष्ट घटकका तर्फबाट एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ मैदानमा छन् ।
आफ्नो जित सुनिश्चित गराउन राप्रपाले जिल्लाको प्रदेशसभातर्फ सबै सिट कांग्रेसलाई सुम्पिएको छ ।
यसै क्षेत्रको प्रदेशतर्फ भने ‘क’मा कांग्रेसले विकास तामाङ र ‘ख’मा निमा लामालाई उम्मेदवार बनाएको छ । जबकि, कम्युनिष्ट घटकका तर्फबाट भने माओवादी केन्द्रले ‘क’मा युवराज दुलाल र ‘ख’मा दावा तामाङलाई अघि सारेको छ ।
दलका प्रतिनिधिले भने गठबन्धनका कारण भोट एकैठाउँमा आउँदा आफ्ना उम्मेदवारहरुले जित्ने अपेक्षा गरेका छन् ।
दुई गठबन्धनबीच कडा टकराव भइरहँदा प्रतिनिधिसभा–२ को प्रदेशसभा ‘क’मा राप्रपाका जिल्ला नेता इन्द्रबहादुर ठकुरी र ‘ख’मा कांग्रेस महासमिति सदस्य जिमी लामाले दिएको स्वतन्त्र उम्मेदवारी कांग्रेसका लागि अर्को टाउको दुखाइ बनेको छ ।
यसअलवा अरु दलका तर्फबाट पनि केही उम्मेदवारी परेपनि सीधा टकराव भने दुई गठबन्धनका उम्मेदवारकैबीचमा पर्नेछ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा भने एमालेले १२ मध्ये ७ स्थानीय तह जित्दै जिल्ला समन्वय समिति एकलौटी बनाएको थियो ।
जबकि, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो शक्तिमा समेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्