१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


दीपक मनांगेलाई सघाउन एमालेका लामाको उम्मेदवारी फिर्ता


0
Shares

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनांगे (राजीव गुरुङ)लाई सघाउने भन्दै लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।

मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार खान्डा लामाले उम्मेदवारी फिर्ता लिएको बताए ।

जिल्लाबाट एमालेकातर्फबाट सर्वसम्मत् सिफारिस भएका मनांगेको सर्वत्र विरोध भएपछि उनलाई स्वतन्त्रबाट उम्मेदवारी दिन लगाइएको बताइएको छ ।

निर्वाचन आयोगको समयतालिकाभित्र मनांगेमाथि कुनै उजुरी दर्ता नभएपछि एमालेले बुधबार आफ्ना उम्मेदवार खान्डा लामालाई उम्मेदवारी फिर्ता लिन लगाएर मनांगेको बाटो खुला गरेको हो ।

एमाले ४ नम्बर प्रदेश कमिटी सदस्यसमेत रहेका मनाङका नेता ट्रिपल पी गुरुङले अब एमालेको उम्मेदवार मनांगे नै भएको बताए ।

‘खासमा एमालेका मुख्य उम्मेदवार नै मनांगे हुन् । उनलाई देखिनेगरी अगाडि सार्दा अप्ठ्यारो पर्ने भएकाले खन्डालाई अगाडि देखाएका हौं’–मनाङ एमालेका एक नेताले भने ।

खन्डा र आफू नजिकको नातेदार रहेको मनांगेले बताए । मनांगे र खन्डाको नाता दिदीभाइकोे छ ।

‘मनाङमा पार्टीभन्दा पनि परिवारको राजनीति हेरिन्छ । जसको परिवार ठूलो छ, उसैले जित्छ’–मनांगेले भने ।

मनांगेले आफ्नो परिवारको आकार ठूलो रहेकाले पनि आफ्नो जित पक्का रहेको दाबी गरे ।

खन्डाले उम्मेदवारी फिर्ता लिएपछि मनाङको प्रदेश क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार कर्मा गुरुङ र मनांगेबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी, प्रदेशको क्षेत्र नम्बर–१ मा एमालेबाट दोर्जे डन्डुल गुरुङ र कांग्रेसबाट चिन्ताबहादुर घले मैदानमा छन् ।

मनाङमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पाल्देन गुरुङ उम्मेदवार छन् ।