
काठमाडौं, पुस २० । संसदको सार्वजनिक लेखा समितिले उपसमितिले तयार पारेको ‘वाइडबडी’ विमान खरिद प्रकरणसम्बन्धी प्रतिवेदनमा भाषिक परिमार्जन गर्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सत्तापक्षका सांसदहरुले भाषिक परिमार्जन नभइ प्रतिवेदन पारित नगर्ने अठान राखेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
बैठकमा सत्तापक्षका सांसदहरुले उपसमितिले ‘कसैलाई काखा, कसैलाई पाखा’ गरी एउटै मुद्दामा फरक–फरक कारबाहीको सिफारिस गरेको भन्दै सच्चाउन माग गरे ।
उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र सचिव प्रेमकुमार राईको बचाउ गरे ।
प्रतिपक्षी सांसदहरुले भने वाइडबडी विमान खरिदमा भ्रटाचार भएको ठहर भएपछि सर्वसम्म रुपमा प्रतिवेदन पारित गरिनुपर्ने बताए ।
उपसमिति संयोजक राजेन्द्र केसीसहित सत्तापक्षबाट समिति सदस्य भएका सांसदहरुले भने प्रतिवदेनमा राजनीतिक आस्थाका आधारमा कारबाही सिफारिस नगरिएको भन्दै प्रतिवेदनको बचाउ गरे ।
कांग्रेसका सांसद डा. मीनेन्द्र रिजाल र सत्तापक्षका सांसद हृदयेश त्रिपाठीले भने सरकारले विमान खरिद प्रकरणमा छानबिनका लागि आयोग गठन गरेपनि सार्वजनिक लेखा समिति अघि बढ्नुपर्ने बताए ।
समितिका सबै सदस्यहरु विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेमा भने एकमत देखिका छन् ।
केही सांसदहरु विमान खरिद प्रक्रियामा सुरुआतदेखि रहेका व्यक्ति र पछि आएका व्यक्तिलाई एउटै कारबाही सिफारिस गर्न नहुने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस्