प्रकाश मैनाली
सर्लाही, पुस २० । हुलाकी सडक आयोजनाअन्तर्गतको सर्लाहीको नवलपुर–मलंगवा सडकखण्डको काममा निकै ढिलाई भएको छ । निर्माण सम्झौताको समय सकिए पनि भुक्तानीको बहाना देखाएर काममा आलटाल भइरहेको छ । जसको मारमा सर्वसाधारण परेका छन् ।
पूर्व–पश्चिम राजमार्गबाट सर्लाही सदरमुकाम जाने नवलपुर–मंलगवा सडकखण्ड २०७५ भदौमा सम्पन्न गर्नुपर्ने गरी २ वर्षअघि सम्झौता भएको थियो । ५९ करोडमा ठेक्का सम्झौता गरिएको आयोजनाको पहिलो म्याद सकिएर अर्को म्याद पनि थपिएको छ तर यो वर्षमा पनि काम पुरा हुने छाँटकाँट देखिँदैन ।
करिब २५ किलोमिटर सडकको कालोपत्रेका लागि दुई कम्पनीलाई जिम्मा दिइएको थियो । जसमध्ये अहिलेसम्म पाँच किलोमिटर मात्र कालोपत्रे गरिएको छ । नवलपुर–गैर खण्डमा हिमडुङ एण्ड ठोकर–हिरा एण्ड नमिता जेभी तथा गैर–मलंगवा खण्डका लागि रमन–आश्रय जेभीले टेण्डर लिएका छन् ।
उता, निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका यादव सरकार भने हुलाकी सडक आयोजना जनकपुरका प्रमुखको सरुवा भएका कारण भुक्तानीमा समस्या हुँदा काम पुरा हुन नसकेको प्रतिक्रिया दिन्छन् ।
मन्त्रालयले नयाँ प्रमुख नपठाउँदा तीन महिनादेखि काम गरेको भुक्तानी नपाएको ठेकेदारको गुनासो छ । भुक्तानी नदिँदा ठेकेदारले आफूहरुसँग पैसा मागेर हैरान पारेको हुलाकी सडक आयोजनाका सब–इन्जिनियर कपिल काफ्ले बताउँछन् ।
कालोपत्रे नहुँदा सडक धुलाम्ये भएर हिड्नै नसक्ने भएकाले स्थानीयले छिट्टै काम हुनुपर्ने अपेक्षा राखेका छन् । सम्झौताअनुसारको रकम भुक्तानी नदिनु आयोजनाको कमजोरी त हो नै तर सँगसँगै रकम पाएअनुसार कामको परिणाम नदेखिनुले पनि निर्माण कम्पनीको गैरजिम्मेवारीपनलाई छर्लङ्ग पारेको छ ।









प्रतिक्रिया दिनुहोस्