३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


स्वास्थ्य संस्था भवन निर्माणमा ढिलाइले सेवा प्रभावित


0
Shares

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निर्धारित समयमा भवन नबन्दा उपचार सेवा प्रवाहमा समस्या भएको हो ।

अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा १८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७१ मा सुरु भएको स्वास्थ्य चौकीको भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।

एक वर्षअघि नै सकिनुपर्ने भवन अझै पूरा नहुँदा अलपत्र पर्नुका साथै सेवा प्रवाहमा असर परेको राम्चे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजु पुनले बताए । हाल वडा कार्यालयसँगैको दुईओटा कोठाबाट स्वास्थ्य चौकी सन्चालन हँुदै आएको छ ।

बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, सुरक्षित प्रसूति, औषधि भन्डारणजस्ता कक्षको अभाव हुँदा समस्या भएको हो । सो भवन निर्माणको जिम्मा लिएको भगवती निर्माण सेवाका सन्चालक गोपाल भट्टचनले भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ढिलाइ भएको बताए ।

हिउँद र बर्खामा प्रतिकूल मौसमका कारण काम गर्न नसक्नु तथा दुर्गम भएकाले बालुवा, सिमेन्ट, रड, ढुंगाजस्ता निर्माण सामग्री ढुवानी गर्न समस्या भएको उनको भनाइ छ । राम्चेको मात्र नभएर गत असारमै सकिनुपर्ने बिम, बरंजा र पिप्ले स्वास्थ्य चौकीको भवनको अवस्था पनि उस्तै छ ।

१८ महिनामा सक्ने लक्ष्यसहित विसं २०७० मा बेनीमा सुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण कार्य हालै मात्र सकेर हस्तान्तरण भएको थियो । डिभिजनका इन्जिनियर गणेश महर्जनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा भवन निर्माणमा ढिलाइ भएको बताए ।
ढिलाइ गर्ने व्यससायीलाई ताकेता गरिरहेको उनले बताए । उनका अनुसार बरंजा, पिप्ले र बिमको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यसैगरी, विसं २०७३ देखि देविस्थान र भगवती स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु भएको छ ।

यस वर्ष थप ६ ओटा स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । कुइनेमंगले, घार, हिस्तान, पुलाचौर, कुहुँ, ओखरबोट र मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का सम्झौताको तयारी भएको इन्जिनियर महर्जनले बताए ।

यसैगरी, बेनी अस्पतालको ५० श्यैया क्षमताको भवन र चिकित्सक निवासका दुईओटा भवन निर्माणको काम सुरु भएको छ । रासस