काठमाडौं, पुस १९ । नेपाल धितोपत्र बोर्डले मुद्रा तथा पुँजीबजारसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयन सुरु भइसकेको जनाएको छ ।
बोर्डले विज्ञप्ति जारी गरी मुद्रा तथा पुँजीबजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट बोर्डमा प्राप्त भएकोे र बोर्डले कार्यान्वयनका लागि थालनी गरिसकेको जनाएको हो ।
उक्त प्रतिवेदनमा उल्लेख भएका पुँजीबजारसँग सम्बन्धित सुझावहरुमध्ये केही नयाँ नियामावली तर्जुमा गरेर, केही विद्यमान नियमावली र निर्देशिकामा संशोधन गरेर तथा केही सुझावहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट कार्यान्वयन गर्नुपर्ने प्रकृतिका रहेका थिए ।
वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत सेयर खरिद–बिक्री, उपत्यकाबाहिर दलाल व्यवसायीको अनुमति दिन आवश्वयक कार्य अगाडि बढाइ बोर्डमा सिफारिस दिन, सर्किट ब्रेक समसामयिक बनाउन अध्ययन गर्न, २०७५ चैतसम्म कार्यान्वयनमा ल्याउने गरी लगानीकर्ता सुरक्षण कोषको प्रक्रिया अगाडि बढाउनेलगायतका कामका लागि बोर्डले नेप्सेलाई निर्देशन दिएको जनाएको छ ।
यसैगरी, धितोपत्रको दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताका लागि आवश्यक भुक्तानी सुनिश्चित कोष तत्काल स्थापनालगायतका कामका लागि बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको जनाएको छ ।
यसैगरी, उक्त समितिको प्रतिवेदनमा उल्लेखित सुझावबमोजिम बोर्ड व्यवस्थापनबाट कार्यान्वयन/सम्पादन गर्नेुपर्ने भित्री कारोबार बन्देज नियमावलीको मस्यौदा निर्माणलगायतका कार्यहरु बोर्डले अगाडि बढाइसकेको पनि बोर्डले जनाएको छ ।
प्रतिवेदनमा उल्लेखित सुझावहरु कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रही सोहीअनुसार कार्यान्वयन गर्नेक्रममा रहेको र यसले बजारमा सकारात्मक प्रभाव पारी बजारमा स्थायित्वसमेत अभिवृद्धि हुने अपेक्षा बोर्डको रहेको छ ।









प्रतिक्रिया दिनुहोस्