
महत्वकांक्षी योजना सहित रौतहटको चन्द्रपुर–८ सन्तपुरका बिपन्न दलित परिवारलाई एकिकृत नमुना बस्ती बनाउन लागेका धुर्मुस-सुन्तली फाउन्डेसनलाई सोचेजस्तो आर्थिक सहयोग जुटन नसक्दा उनीहरु संकटमा परेका हुन् ।
तर पनि उनीहरुको जाँगर र इच्छा भने मरेको छैन् । माघ २४ गतेअघिनै बस्तीमा निर्माण गरिएको घर हस्तान्तर गर्ने योजनामा रहेका उनीहरुसंग यतिखेर पर्याप्त रकम छैन् ।
महोत्तरीको बर्दिबासमा मुसहर बस्ती बनाईसकेपछि धुर्मुस सुन्तली फाउण्डेसनको खातामा एक करोड ५५ लाख रुपैयाँ जम्मा भएको थियो ।
त्यसमध्ये एक करोड तीन लाख बाढी पीडितको राहत वितरणमा सकेर बचेको ५२ लाख रुपैंयाँबाट उनीहरुले परियोजनाको सुरु गरेका हुन ।
सुरुमा ४५ वटा घर बनाउने योजना सहित बस्ती निर्माणको काम थालेका उनीहरुको योजनामा पछि ३ वटा घर थपिएको छ ।
४८ वटा घर सहित एक सामुदायिक भवन, एउटा भ्यु टावर एक मन्दिर, सार्वजनिक धारा र शौचालय लगायतका भौतिक संरचना उनीहरुले निर्माण गर्ने भएका छन ।
१२ कठ्ठा क्षेत्रफलमा फैलिएको जमिनमा २४ इन्च चौडा र ९ फिट अग्लो पर्खाल र २५ भन्दा बढि घरका जग उठाईसकेका छन । भुकम्प प्रतिरोधी र सम्भावित डुबानबाट बचाउने हेतुले घरको निर्माण गरिने छ ।
परियोजना सक्न ६ करोड लाग्ने अनुमान गरिएको छ, धेर थोर सहयोग जुटेपनि करिब ४ करोड रुपैयाँ अपूग हुने देखिएको छ ।
उनीहरुले बस्ती निर्माणमा मात्र हैन त्यहाँ कार्यरत कामदारलाई समेत राष्ट्रिय गानबाट देशभक्तको भावना जगाउने गरेका छन ।
काम गर्न जानु अघि मजदुरलाई शिक्षा र परेड समेत खेलाउने गरेका छन । धुर्मुस सुन्तलीको यो चौथो परियोजना हो । निर्माणमा जुटेका धुर्मसले भने ‘अहिलेको स्थिति निर्माण कार्यको लागि रकम अपुग हुदै गएको छ ।’
रकम अभाव भएपनि निर्माण कार्य सकेर नै छाड्ने उनको दृढता रहेको छ । बस्तीमा घर भएका बिपन्न परिवारको आशा र भरोसा समेत धुर्मुस सुन्तली प्रति नै रहेको छ ।
घर बनाउन खाली गराइएका बस्तीका बासिन्दा भने नजिकै नहरको डिलमा छाप्रो बनाएर आश्रय लिईरहेका छन । उनीहरुको जाडो यसै छाप्रोमा बित्ने अवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्