अत्यधिक मूल्यमा सामान बिक्री गरेको आरोपमा पक्राउ परेका ८ व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिन म्याद थप गरिएकोे काठमाडौंका प्रजिअ केदारनाथ शर्माले जानकारी दिए ।
गत भदौ १९ गते तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा रहेका पसलमा अनुगमनकाक्रममा लागतभन्दा १० गुणा बढीसम्म रकम लिएर सामान बेचबिखन गरेको भेटाएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको थियो ।
विदेशी ‘ब्रान्ड’का सामान बेच्ने ती पसल सन्चालकलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित हुन आग्रह गरेपनि उपस्थित नभएपछि मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा रोशन ओडारी, तुलसीधर भण्डारी, राजेश्वर श्रेष्ठ, नन्दन बिहानी, जीतेन्द्र महर्जन, सुवास महर्जन, श्रीकृष्ण महर्जन, उत्तमकुमार बस्नेत र प्रविन झा रहेका छन् ।
पक्राउ परेकालाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत् कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्