
काठमाडौं, पुस १८ । संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपविजेता बन्न सफल भएको छ ।
बुधबार प्रतिस्पर्धी थ्रीस्टार क्लबलाई २–१ ले पराजित गर्दै संकटाले एक खेलअघि नै दोस्रो स्थान पक्का गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको १२औं चरणको खेलमा थ्रीस्टारले ३०औं मिनेटमा रन्जन बिष्टको गोलबाट प्रारम्भिक अग्रता लिएपनि खेलाडीहरुले अनुशासन गुमाउँदा अग्रता टिकाइराख्न सकेन ।
संकटाले दुवै गोल पेनाल्टीमार्फत् गरेको हो । दुवै गोल अमित तामाङले गरेका हुन् ।
जितले उपविजेता संकटाको २८ अंक भएको छ भने पराजित थ्रीस्टार २३ अंकबाट तेस्रो स्थानमै छ ।
चौथो स्थानको त्रिभुवन आर्मी क्लबको २२ अंक हुँदा तेस्रो स्थानको भिडन्त अन्तिम खेलबाटै टुंगो लाग्नेछ ।
खेलाडीहरुबीच मैदानमै हानाहान
मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नजिता कायमै रहेको छ ।
बुधबार १२औं चरणको खेलमा मनाङले हिमालयन शेर्पा क्लबमाथि २–१ कै जित निकाल्यो ।
सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भएको खेलमा मनाङका लागि ३६औं मिनेटमा अफिज ओलावाले र ६४औं मिनेटमा विशाल राईले एक/एक गोल गरे । हिमालयनका विश्वास श्रेष्ठले ४५औं मिनेटमा एक गोल गरेका थिए ।
खेलको ७०औं मिनेटमा खेलाडीहरुबीच मैदानमै हानाहान भएपछि रेफ्रीले मनाङका मुहम्मद आसिफ र हिमालयनका विश्वासलाई रातोकार्ड देखाएका थिए ।
जितले च्याम्पियन मनाङको ३६ अंक भएको छ भने हारले हिमालयन शेर्पा १७ अंकबाट सातौं स्थानमै खुम्चिएको छ ।
जारी लिगका अन्तिम चरणका खेलहरु शनिबारदेखि हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्